साङ्लोले नसताएको घर शायदै भेटिएला । त्यसमाथि पनि गर्मी र बर्खाका बेलामा त साङ्लाको संख्या ह्वात्तै बढ्छ । कुनाकाप्चा तथा चेपचेपमा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्केर हैरानै गर्छन् । कहिलेकाहीँ त खानासहित साङ्ला फाल्नुपर्ने आवश्यकता आइलाग्छ ।
बजारमा पाइने विषादीहरुले साङ्लालाई त मार्छ तर त्यसमा भएको रसायनले मानव स्वास्थ्यलाई समेत हानी पु¥याउँछ । यहाँ मानवस्वास्थ्यलाई अससर नपुग्ने गरी घरेलु उपायबाट साङ्ला
भगाउने केही तरिकाहरुको बारेमा चर्चा गरिएको छ —
– खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई मन नपर्ने हुँदा साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनाले साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्न सकिन्छ ।
– एउटा कचौरामा बेकिङ पाउडर र चिनीको बराबर मात्रा मिलाएर त्यसमा पानी हाल्ने । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किंदा चिनीको मिठासले उनीहरूलाई लोभ्याउने हँुँदा त्यस मिश्रणप्रति आकर्षित हुन्छन् र बेकिङ पाउडरले साङ्लालाई मारिदिन्छ ।
– ल्वाङको गन्ध पनि साङ्लालाई मन नपर्ने हुँदा साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राखिदिनाले साङ्ला आउँदैनन् । यसबाहेक मट्टीतेल, नीम, पुदीना र कफीको प्रयोगले पनि साङ्लालाई भगाउन सकिन्छ ।













