काठमाडौँ । इरानले पहिलो हाइपरसोनिक ब्यालेस्टिक मिसाइल निर्माण गरेको दाबी गरेको छ । यो मिसाइललाई फतेह नाम दिइएको छ ।
इरानको सरकारी मिडिया इर्ना ९क्ष्च्ल्ब्० ले पनि मंगलबार आफ्ना तस्बिरहरू जारी गरेको छ । यो मिसाइलको दायरा १ हजार ४ सय किलोमिटर रहेको बताइएको छ । इर्नाका अनुसार, यसको गति १५ हजार किमी प्रति घन्टा रहेको छ, जुन ध्वनिको गति भन्दा १५ गुणा बढी छ ।
रिभोलुसनरी गार्डले इरानका राष्ट्रपति इब्राहिम रायसीको अगाडि यो मिसाइल प्रस्तुत गरेको थियो । इरानले फताह मिसाइलले अमेरिकाको सबैभन्दा उन्नत एन्टी ब्यालिस्टिक मिसाइल प्रणाली सहित इजरायलको आइरन डोममा आक्रमण गर्न सक्षम रहेको दाबि गरेको छ । अमेरिका र युरोपको विरोधका बाबजुद इरानले आफ्नो मिसाइल कार्यक्रमलाई थप विकास गर्ने बताएको छ ।
पश्चिमी देशका सैन्य विशेषज्ञहरूले इरानले सधैं आफ्नो मिसाइलहरूको क्षमता बढाइचढाइ गरेको टिप्पणी गरेका छन् । इरानले यसपटक पनि आफ्नो मिसाइलको गुणबारे कुनै प्रमाण पेश नगरेको बताउदै उनीहरुले अघिल्लो वर्ष नोभेम्बरमा इरानको रिभोलुसनरी गार्डका कमाण्डर अमिर अली हाजिजादेहले हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेको बताएका छन् ।
मे २५ मा इरानले २ हजार किलोमिटर मार हान्न सक्ने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो । इरानले आफ्नो मिसाइल मध्यपूर्वमा रहेको अमेरिका र इजरायलको बेससम्म पुग्न सक्षम रहेको बताएको थियो । इर्नाका अनुसार यो क्षेप्यास्त्र फारसको खाडीमा गस्ती गरिरहेका युद्धपोत र पनडुब्बीहरूमा तैनाथ गरिएको हो। यो ब्यालेस्टिक मिसाइल अमेरिकाको टमाहक भन्दा बढी प्रहार गर्न सक्षम छ ।
केही दिन अघि समाचार एजेन्सी एपीको एक रिपोर्टमा इरानले आफ्नो आणविक केन्द्रलाई इजरायल र अमेरिकाको आक्रमणबाट बचाउन सक्दो प्रयास गरिरहेको दाबी गरेको थियो । उसले अहिले पहाडी क्षेत्रमा भूमिगत परमाणु हतियार बनाइरहेको छ। यसको स्याटेलाइट तस्विर पनि सार्वजनिक भएको छ । इरानले आणविक हतियार बनाउनबाट रोक्नको लागि उसको आणविक केन्द्रमा धेरै पटक आक्रमण भएको छ ।
इरानले लगभग २२ वर्षदेखि परमाणु शक्ति हासिल गर्ने प्रयास गरिरहेको छ। अमेरिका, इजरायल र अरब जगतलगायत पश्चिमा मुलुकले इरानले आणविक हतियार बनाएमा विश्वका लागि खतरा हुने विश्वास व्यक्त गरेका छन् । २०१० मा, संयुक्त राष्ट्र सुरक्षा परिषद, युरोपेली संघ र अमेरिकाले इरानलाई रोक्न प्रतिबन्धहरू लगाएका थिए । तीमध्ये अधिकांश अहिले पनि चलिरहेका छन् ।
इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्न सन् २०१५ मा एउटा सम्झौता भएको थियो। जसमा इरान, बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र अमेरिका थिए । यो सम्झौतामा इरानले समय(समयमा आफ्ना आणविक रिएक्टरहरूको राष्ट्रसंघबाट निरीक्षण गराउने र आफ्नो आणविक कार्यक्रमलाई अगाडि नबढाउने निर्णय गरेको थियो । यद्यपि, २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई सम्झौताबाट बाहिर निकाले र इरानमाथि फेरि प्रतिबन्ध लगाइयो ।
तर, आणविक सम्झौताको अन्त्य भएदेखि इरानले ६० प्रतिशतले युरेनियम प्रवर्द्धन गरेको छ । इरानले अहिले आणविक हतियारका लागि ८३।७ प्रतिशत शुद्ध युरेनियम उत्पादन गरिरहेको बताइन्छ । हतियार बनाउने क्षमताका लागि ९० प्रतिशत शुद्ध युरेनियम कण चाहिन्छ ।












