काठमाडौँ— नेपाल सरकार र विभिन्न माग राखी धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सहमति भएको छ ।
प्रधानमन्त्रीलाई सम्बोधन गरी अध्यक्ष पुनले दिएको ज्ञापनपत्रमा उल्लिखित मागमा उपप्रधानमन्त्री तथा रक्षा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग भएको छलफल बमोजिम प्रधानमन्त्रीको निर्देशनमा आज सहमति भएको हो ।
सहमतिअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गरिने भएको छ ।
यसैगरी कोषको व्यवस्थापन तथा सञ्चालन गर्न सङ्घीय संसद्को आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने सहमति भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।













