सामान्य गाउँ घरका खेतीपातीका गाई बाख्राका कुरा गर्नेलाई हामी सानो अज्ञानी भन्न सक्छौं । अर्काका कुरा सुनेर, अर्काको उधारो विचार लिएर गफ हाँक्नेलाई हामी अज्ञानी हुन् भन्न सक्छौं । ठूलो अज्ञानी या सानो अज्ञानी दुवैको चिन्ता पेट र पैसामा मात्रै अल्झिएको देखिन्छ । पुरोहित र सामन्तले निर्माण गरिएको परिवारवाद, जातिवाद, कूटनीतिवाद, वर्गवाद, छुवाछुत–दैव–प्रारब्धवादहरूमा आबद्ध सम्मेलन नै परम्परा हो । त्यो परम्परामा क्रान्ति, शान्ति, सन्तोष, विश्राम र स्व–उपलब्धिको गन्ध पनि छैन ।
चिन्तनको दिव्यता कसैका अखवारमा पनि देखिएन, धेरैजसो मनचाहना, मनगढन्ते कुराका पोका मात्रै भेटिए । एकअर्काको निन्दा गर्ने आफ्नो दुकानदारीको चिन्ता गर्ने बाहेक कसैमा पनि ज्ञानको, आत्माको स्थिति देखिएन ।
सत्पुरुषले दुकान खोल्दैन, मिथ्यामा त बेच्दैन, आपूmभित्र पसेर आपैmमा शिक्षा खोज्नुप¥यो, ईशा, कृष्ण, बुद्ध, शिव सबैको शिक्षा पुरोहितका हातबाट विकृत भएको छ । आत्मालाई चिन्नुप¥यो ।
बाल्यकालदेखि अबसम्मको आफ्नो जीवन अध्ययनबाट मिथ्यामा लुकेको सत्य देख्न सक्नुपर्छ । सम्बन्धित र सम्बन्ध मानेका स्वार्थ र आसक्तिसित सम्बन्धित वस्तु, व्यक्ति, पदार्थ र स्थानबाहेक सृजनमा कोसँग कहाँ कसरी तिम्रो सम्बन्ध छ ?
राम्रो नलागे त्यो सम्बन्ध कसरी राख्न सक्छौ वा सक्तैनौ । भय, आदत र दण्डानुसार योग, भोग भन्ने चक्रबाट पर जाऊँ । देख्न सिक, यो साक्षीभावले मुक्ति दिन्छ ।
कञ्चन कामिनी र कीर्तिको आकाङ्क्षा हटाई द्यौ, तिमी सर्वदा स्वतन्त्र छौ । कञ्चनमा लुकेको डर, कामिनीमा लुकेको विक्षेप, कीर्तिमा लुकेको अशान्ति हेर्न जान्नुपर्छ, नत्र भने तिम्रो जीवन ढाडे बिरालोजस्तो भएर नष्ट हुन्छ ।
जन्मेपछि आरोपित सबै नक्कली कुराको त्याग गर्न नसक्ने मूर्खले ज्ञानको कुरा गर्नु, कायर–दरिद्रले राज्यको स्वप्न देखेजस्तो हो । यत्ति नबुझ्ने मूर्खलाई के भन्नुपर्ने हो मसँग शब्द छैन ।
अर्कालाई हराउनु दिमागको चिन्ता हो । धेरै सङ्ग्रह गर्नु पेटको चिन्ता हो । स्त्री, पुत्रको सुख खोज्नु जननेन्द्रियको चिन्ता हो । यावत् मनुष्य यी तीनमा डुबेर मृत्युका आहारा बनेका छन् । शरीरसित आफ्नो सम्बन्धको सत्य जानेपछि मात्रै, अमरता, नूतना र परमको स्पर्श हुन्छ ।
साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट













