राजा भर्तृहरिका केही अमर वाणीहरुः
१) चित्त प्रशन्न राख्नाले मनुष्यका सबै दुःख हट्दछन् । प्रसन्न चित्र मनुष्यको बुद्धि प्रतिकूल स्थितिमा पनि शीघ्र स्थिर हुन्छ ।
२) जबसम्म शरीर स्वस्थ छ, बुढ्याईँ आएको छैन, इन्द्रियको शक्ति घटेको छैन र आयु पनि ढलेको छैन समझदार मानिसले त्यतिबेलासम्म आफ्नो हित साधन गरिसक्नु पर्दछ, अन्यथा घरमा आगो लागेपछि इनार खनेर के हुन्छ ?
३) काम थाल्नु अघि त्यसको परिणामको निश्चय गर्नुपर्छ, किनकि हतारमा गरिएको कामको दुष्परिणामले मृत्युसम्म पनि हृदयलाई अग्निले सरी पोल्दछ र काँढाले झैँ छेड्दछ ।
४) काटिएको वृक्ष पनि बढ्दछ, घटिसकेको चन्द्रमा पनि बढेर पूर्ण हुन्छ । यस कुरालाई बुझेर सन्त पुरुष विपत्तिमा पनि हडबडाउँन्नन् ।
५) आशा नामको एउटा नदी छ जसमा मनोरथ रुपी जल भरिएको छ, तृष्णारुपी तरङ्ग छन्, रागरुपी गोही र वितर्करुपी अनेक पन्छी छन् । ती धैर्यरुपी किनाराका वृक्षलाई ढाल्नेवाला छन् । त्यसमा मोहरुपी भँवरो छ, जसका कारण त्यो ज्यादै डराएको छ गम्भीर छ । उसका चिन्तारुपी अग्ला पहरा पनि छन् । त्यस मोहरुपी नदीको पारी पुगेको विशुद्ध चित्त योगीश्वरले नै आनन्द पाउँदछन् ।
६) दुर्जन विद्वान् भए पनि त्यसलाई त्याग्नु उचित छ, के मणिले अलंकृत सर्प भयंकर हुँदैन र ?
७) उद्योग जस्तो कुनै बन्धु छैन, यो नै एउटा यस्तो साथी हो, जसको सङ्गत गर्नाले दुःख प्राप्त हुँदैन ।
८) घृणा गर्नु दुष्टको काम हो । क्षमा गर्नु मनुष्यको धर्म हो र प्रेम गर्नु देवताको गुण हो ।
९) फल लाग्दा वृक्ष विनम्र हुन्छन्, जलले भरिँदा बादल पृथ्वीसम्म झर्दछन्, सज्जन समृद्धिबाट विनम्र बन्दछन्, यही नै परोपकारीको स्वभाव हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













