सन्त कविरका केही अमर वाणीहरु
१) मायारुपी यो वृक्ष दुई फल परमानन्द र नारकीय दुःख दिनेवाला छ । जसले यिनलाई सन्तोषपूर्वक खान्छन् तथा सेवा, दान, परोपकारादि पुण्य कर्मद्वारा खर्च पनि गर्दछन् तिनलाई परमसुख मिल्दछ । तर जो लोभवश तिनको संग्रह गर्दछ तिनलाई ठूलो दुःखरुपी नरकको द्वारमा खस्नुपर्दछ ।
२) जाँदै गरेको ‘माया’ले सबैलाई यो सन्देश दिन्छ कि सबैले ध्यानपूर्वक मेरा वचन सुन । उदार हृदयी सुखी सज्जनका नजिक साधु–सन्त आउँछन् यस्तोमा तिनको सेवा सत्कार मायाद्वारा नै हुन्छ र त्यसको परिणामले सुख तिनलाइ प्राप्त हुन्छ । तर लोभीको घरमा त यदा–कदा चोर नै घुम्दछन् । तिनको द्वारबाट त माया हिँड्दछ ।
३) ती माया मोहनीबाट सावधान रहनु । तिनलाई नभेट्नु, चाहे त्यो जति नै सुन्दर किन नहोस् । त्यसको चक्रमा फसेको त वेदर्षि नारदजस्ता श्रेष्ठ मुनि पनि पग्लिए । अनि त तिमी विचार गर कि तिम्रो के हालत हुनेवाल छ ? अर्थात् मायाको सङ्गतको प्रभावबाट बच्न पनउनु अति कठिन छ ।
४) माया त बलेको दियोको लप्को जस्तै हो र मानिस ती भुसुना, पुतली जस्ता हुन् जो त्यसको मोहमा परेर घुम्छन् र त्यसैमा आहुति हुन्छन् । भ्रमित अज्ञानी मानिस मायाको जालमा पर्दछन् । विरलै साधु–सन्त यस्ता हुन्छन् जो गुरुको सदुपदेश, ज्ञान आचरणबाट त्यस मायाको मोहबाट उद्धार पाउन सक्छ ।
५) संसार–सागरमा यो माया सुकेका हाडको थुप्रो हो र विषयी अज्ञानी जीव स्यालको रुप हो । जीवनभर हाड तान्दातान्दै व्यर्थमा मर्दछन् । अर्थात् यस मायाको वशमा परेका जीव जीवन पर्यन्त दुःख पाउँछन् र मर्छन् ।
६) अहङ्कारको आगो ज्यादै विचित्रको हुन्छ । यदि अहङ्कारको आगो हृदयमा दन्किरहेको छ भने अहङ्कारी व्यत्ति गुरुबाट समेत सम्मान खोज्दछ । त्यस्ता अभिमानीलाई मृत्युरुपी दुःख–सङ्कट एवम् कुवासनाहरुले खुल्ला निमन्त्रणा दिएको छ कि ‘आऊ तिमी हाम्रै बन’ । अर्थात् ती सदाकाल विपत्तिले घेरिइरहने छन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट