रक्तचाप ११०/७० भन्दा लगातार कम हुँदै गएमा न्यून रक्तचाप भएको मानिन्छ । मुटुले रगत पम्प गरी नशाहरुमा रगत पठाउने गर्दछ । र, मुटुको रगत पम्प गर्ने क्षमता कम हुँदै गएपछि निम्न रक्तचाप हुने गर्दछ । शरीरमा सोडियमको कमीको कराण रक्तचाप निम्न हुने गर्दछ ।
निम्न रक्तचाप हुँदा टाउको दुख्ने, कमजोर हुने, रिँगटा लाग्ने, थकाइ लाग्ने, बेहोश हुने, स्मरणशक्ति कमजोर हुने, अल्छी लाग्ने जस्ता लक्षणहरु देखिन्छन् भने न्यून रक्तचाप हुनुमा असन्तुलित भोजन नै मुख्य कारण मानिन्छ ।
लामो समयसम्म यो समस्या रहिरहेमा महिलाहरुमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर आदि हुने खतरा रहने हुँदा यसको उपचार गरिहाल्नुपर्छ । औषधीहरुको प्रयोग प्रभावकारी नमानिएकाले भोजन र प्राकृतिक चिकित्साबाट यसको उपचार गर्नु लाभदायक हुन्छ ।
ध्यानदिनु पर्ने कुराहरु
– दैनिक भोजनमा प्रोटिन, भिटामिन सी, भिटामिन बी युक्त खानेकुराहरुलाई समावेश गर्नु निम्न रक्तचापको अचुक उपचार बन्ने गर्दछ । प्रोटिन: दूध, दही, माछा, अण्डा, मासु, गेडागुडी । भिटामिन सी: अमिला जातका फलफूलहरु (कागती, मौसम, सुन्तला) ब्रोकाउली, काउली, गोलभेँडा हरिया सागतपात आदि । भिटामिन बी: अक्षत अन्न, जौ, कलेजो, अण्डा, माछा, मासु, बदाम, सूर्यमुखीको बियाँ, काजु, पेश्ता, देशीबदाम, गहुँको चोकर, केरा चीज आदि ।
– सोडियमको परिपूर्तिको निम्ति हरिया सागपात प्रशस्त खानुपर्दछ ।
– स्याउ, सुन्तला, भुइँकटहर, अंगुर, नासपाती, आरु, मेवा, आदि फलफूलहरु प्रशस्त खानुपर्दछ ।
– ताजा फलफूलका साथै ड्राइफुड (काजु, पेश्ता, बदाम, देशीबदाम, ओखर, अन्जिर, मुनक्का दाख) आदि सेवन गर्नुपर्दछ ।
– तरकारीको सुप, फलफूलको जूस पिउनु लाभदायक हुन्छ ।
– दैनिक २–३ लिटर पानी पिउनुपर्दछ ।
– रक्तचाप ज्यादै कम भएमा नुन अलिक बढी खान सकिन्छ ।
– खुर्सानी पानीलाई खाना खाएको आधाघण्टापछि बिहान बेलुका पिउनाले शरीरमा रक्तसञ्चार राम्रो बनाई रक्तचाप उठाउन मद्दत गर्दछ ।
– पाकेको तरकारी वा अचारमा पनि धूलो खुर्सानी छर्केर खानाले फाइदा गर्दछ ।
– बिहान बेलुका खुल्ला हावामा डुल्ने ।
– पौडी खेल्ने वा साइकल चलाउने ।
– बिहानपखको घाम ताप्ने र शरीरमा तेल मालिस गर्ने ।
– अनावश्यक चिन्ता, नकारात्मक विचार मनमा खेल्न नदिने ।
– हिँडाइ निम्न रक्तचापको लागि अत्यन्त लाभदायक मानिन्छ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट