पृथ्वीनारायण शाहका केही अमर वाणीहरुः
१) यो मेरो सानो दुःखले आर्जिएको मुलुक होइन । यसमा विभिन्न जातजातिका धेरै जनताको परिश्रम परेको छ । यसैले यो सबै जात–जातिहरुको साझा फूलबारी हो । सबैलाई यस कुराको चेतना भया राम्रो हुने थियो ।
२) उपत्यकाका तीन शहर त चिसा ढुङ्गाजस्ता पो रहेछन् । यहाँ त खेलखाल मात्र हुँदा रहेछन् । कुवाको पानी खानेको वुद्धि हुने रहेनछ । यी शुरा पनि हुँदा रहेनछन् ।
३) राजाले देशमा न्याय–निसाफ राम्ररी हेर्नु । मुलुकमा कुनै अन्याय हुन नदिनु । न्याय–निसाफ विगार्ने भनेका घुस दिने तथा खानेहरु नै हुन् । यी दुई थरीको त जिउ–धन नै जफत गरेमा पाप लाग्ने छैन । यी राजाका महाशत्रु हुन् ।
४) जड कुरा के भने राजालाई चाहिने भनेका सिपाहीहरु नै हुन् । यिनीहरुलाई घरखेत मिलाइदिनु । यसो भएमा ढोकामा रहे पनि गौँडामा रहे पनि सिपाहीको छाती बलियो हुन्छ । राजाका सम्पत्ति भनेको सिपाही र रैती नै हुन् । यिनलाई हात लिई राख्नु । यिनलाई सधैँ तिखारिराख्नु । त्यस्ता सिपाही कसैका मुलाहिजामा फँस्दैनन् र काम पनि फत्ये हुन्छ । यिनलाई सधैँ नूनको पछि लगाउनु ।
५) खानी भएको ठाउँमा गाउँ बसेको भए त्यसलाई अन्यत्र सारेर भए पनि त्यहाँको खानीलाई चलाउनु । खेती हुने जग्गामा घर भए अन्यत्र सारी कुलो काटेर खेत बनाई आबाद गर्नु ।
६) राजा जयप्रकाश मल्लले आफ्नो मतलबको निम्ति दक्षिणतिरबाट नागा (सैनिक) झिकाएका थिए । मैले तिनलाई नेपालभित्र पस्न नदिई सात गाउँभित्र नै रगतले भिजाइदिएको थिएँ । नवाफ कासिम–अलि खान पनि मकवानपुर गढीमा चढ्यो र एक सय बीस जना खुँडाधारी सैनिकलाई पठाएर काटी सैनिकलाई धपाई सिमाना कटार फर्केको थिएँ । यसको केही वर्षपछि तीन–चार पल्टन लिई सिन्धुलीगढीमा ‘हार्डिङ’ नामको अँग्रेज साहेब चढ्यो । यसका सैनिकलाई काटी उसका पत्थरकलाहरु खोसेर ल्याएको थिएँ । त्यतिवेला लखनऊबाट तीन जना मुसलमान कालिगढहरु मेरो चाकडीको निमित्त नुवाकोटसम्म मेरो पिछा गर्न आएका थिए ।
७) मलाई गम्भीर कुरामा सन्देह लागिरहेको छ, त्यो के भने नेपालबाट मुगलामा (भारत) नजिकै छ । त्यहाँ छाडा केटाहरु तथा पत्रिया (निर्लज्ज) हरु पनि हुँदा रहेछन् । हाम्रा नवयुवकहरु त्यस्ता ठाउँमा पुगी चित्रकारी गरिएका कोठाहरुमा ढोलक र सितारका राग र तानहरुमा भुल्लान कि भन्ने अहिले मलाई ठूलो चिन्ता लागिरहेछ ।
८) राग र तानामा मानिसको ठूलो मोह रहेको हुन्छ । त्यस्ता जमघटमा दैलतका थैला प्रशस्त खोलिन्छन् । यसले गर्दा आफ्नो देशका भेद तिनीहरु सजिलै लैजाने गर्दछन् । हाम्रो देशमा हरपल विश्वासघात (दगा) गर्दछन् ।
९) हाम्रो आफ्नो शोख सयललाई त आफ्नै शास्त्र अनुसारका तीन शहर नेपालका नेवार नाच झिकाई हेरे पनि हुन्छ । यिनलाई दिएको त आफ्नो देशमा सुरक्षित रहन्छ । यसो गरेमा आफ्नो देश पनि अगम्य हुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट