अनार प्राचीन फल हो । यो इरान, मध्यपूर्व युरोप, भारत, नेपाललगायत विभिन्न मुलुकमा ज्यादै प्रसिद्ध छ । विभिन्न स्वाद (गुलियो, अमिलो) आकारमा पाइने अनार मिठो फल त हुँदै हो, यसको जुस, पात, रुखको बोक्रा विभिन्न खाले बिरामी विशेष गरी पखाला, ह्यामरेज, इन्फेक्सनको उपचारमा औषधीका रुपमा पनि प्रयोग हुन्छन् ।
अनार कम क्यालोरी, तर एन्टिअक्सिडेन्ट टेनिन (जस्तै इलागी) धेरै भएको फल हो । यसमा भिटामिन सी का साथै फाइबर प्रशस्त मात्रामा पाइन्छन् जसमा क्यान्सर, हृदयरोग, ओबिसिटीजस्तासँग जुध्ने शक्ति हुन्छ । आधुनिक अनुसन्धानले पनि अनार सेवनबाट फोक्सो, प्रोस्टेट, कोलोन क्यान्सर नियन्त्रण हुन सक्ने बलियो सम्भावना देखाएको छ ।
रगतमा ग्लुकोज सन्तुलन गर्ने र कोलेस्टेरोल घटाउने गुण पनि भएकोले मधुमेह वा मोटाबोलिक सिन्ड्रोममा अनार सेवन लाभदायक हुन सक्छ । अनारको बोक्रामा जीवाणुनाशक (एन्टिब्याक्टेरियल) गुण पनि हुन्छ । बजारमा अनारको जुस र सस पाइन्छन् ।
साभारः ‘जीवन जिउने काइदा’ पुस्तकबाट