गर्मी बढ्न थालेसँगै वर्षे बालीको तयारी हुन थालेको छ। लामो समय पानी नपर्दा हिउँदे बाली गतिलो हुने छाँटकाट छैन। चाहिने जति पानी नपाएर खेतबारीमा लगाइएका जौं गहुँले स्वभाविक आकार लिन सकेका छैनन्। त्यसैले कुला बनाएर सिंचाइ गर्ने तयारी थालिएको छ।
तर, कतिपय ठाउँमा गत असोज महिनामा परेको अविरल वर्षासँगै आएको बाढीले कुलो बगाइदिदा समस्या परेको छ। ती धेरै कुलाहरुमध्ये चन्दननाथ नगरपालिका –१ मा रहेका ठिन्के कुलो र माझकुलोलाई सुचारु गर्न नेपाली सेनाले सहयोग गरिरहेको छ।
यी दुई कुलाहरुले चन्दननाथ १ देखि ५ वडासम्मका सयौं किसानको खेत सिंचाइ गरिरहेका छन्। मंगलबार बिहानदेखि नन्दाबक्स गणका गणपति रविन थापाको नेतृत्वमा सेनाको टोली बाढीले बगाएको कुलो निर्माणमा जुटेको थियो। पटक(पटक कुलो बनाइदिन आग्रह गर्दा पनि कसैले सुनुवाइ नगरेपछि स्थानीय किसानले नेपाली सेनालाई कुलो बनाइदिन आग्रह गरेका थिए।
किसानले स्थानीय प्रशासन, भौतिक पूर्वाधार कार्यालय, सिंचाइ कार्यालय लगायत निकायसँग खेतमा सिंचाइ गर्ने वातावरण बनाइदिन पटक(पटक ध्यानाकर्षण गराएका थिए। तर, बजेट अभाव भएको भन्दै सबै निकाय पन्छिन थालेपछि उनीहरूले सेनालाई कुलो बनाइदिन आग्रह गरेका हुन।
गणपति थापाले बाढीले बगाएको कुलो बनाउन १ सय ५० सैनिक जवान खटिएको बताए।
तीन दिनमा किसानको खेतमा पानी पुग्ने गरी कुलो निर्माण भइरहेको छ,ु उनले भने,ु ुरोपाइँ नजिकिँदै गर्दा किसानलाई कुनै मर्का नहोस् भनेर सिंगो सेनाको टोली कुलो बनाउन खटिएको हो। पातारासी गाउँपालिकाको उर्थु नजिकैदेखि किसानको खेतसम्म पुग्न झण्डै ५ किलोमिटरको दूरीमा कुलो बनेको छ।
कुलो निर्माणको क्रममा हाल ढुंगा र पहिरो पन्छाउने कार्य गरेर सेनाले सहयोग गरेको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए।
सेनाले विद्युतगृहको नहर पनि बनाइरहेको छ। अब किसानले बिजुली पनि बाल्न पाउनेछन्, उनले भने, धान रोप्न सहज हुनेछ। अहिले छरेको जौमा पनि सहजै सिचाइ गर्न सहज हुनेछ।
नेपाली सेनाको २४ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी सोवेन्द्रसिंह महतले बाढीले बगाएको कुलो बनाउन किसानले गरेको आग्रह सेनाका लागि निकै सकारात्मक काम भएको बताए।