पोखरा, ९ फागुन । पोखरा–५ पस्र्याङ निवासी ४ वर्षीय बालक सुहान केसीको पोखरीमा डुबेर मृत्यु भएको छ । सोमबार साँझबाट हराएका बालक केसीलाई पोखरा –५ स्थित खुँडेपोखरीमा डुबेको अवस्थामा प्रहरीले मंगलबार बिहान मृत अवस्थामा फेला पारेको थियो ।
पर्वत घरभई पोखरा–५ धाराापानीमा बस्दै आएका बालक केसी पोखरीमा मृत फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले दिए । सोमबार बेलुका ६ बजेतिर घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । बालक केसीको शवलाई शल्य परीक्षणका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
बालक खेल्ने क्रममा पोखरीमा खसेको हुनसक्ने आशंका गरिएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ । उनको शव पोखरीबाट सशस्त्र प्रहरी बलको रेस्क्यु टोलीको सहयोगमा बैदाम प्रहरीले बाहिर निकालेको हो ।