फ्रान्सीसी गायिका मेलिथानकोमा एक पटक कुनै गरिब केटा आयो । मेलिथान उसलाई देखेर द्रवित भइन् र भनिन्, बाबु तिम्रो नाम के हो ? म भएको ठाउँमा कुन कामले आएका हौ ?
मेरो नाम पियरे हो म निवेदन गर्न आएको छु कि मेरी आमा बिरामी छिन्, उनको उपचार गराउनको लागि मसँग पैसा छैन र म उनको लागि औषधी किन्न पनि सक्दिनँ ।
ए तिमीलाई आर्थिक सहायता चाहिएको हो, भन कति पैसा दिउँ ? मेलिथानले पियरेको कुरा बीचमा काट्दै भनिन् । हैन, मलाई सहायता चाहिएको हैन, म सित्तैमा पैसा लिने गर्दिनँ, म त यो निवेदन गर्न आएको हँ कि मैले एउटा कविता लेखेको छु । तपाईं त्यो कविता संगीत सभामा वाचिदिनुस् र पछि जे जति उचित सम्झनुहुन्छ त्यो दिनुस् ।
मेलिथान त्यो केटाको कुरा सुनेर प्रभावित भइन् । उनले भोलिपल्टै समारोहमा त्यो कविता पाठ गरिन् । करुण स्वरमा पढिएको त्यो कविता सुनेर श्रोताहरुका आँखा भिजे । त्यो कविताको लागि कैयौँ मानिसले राम्रो पुरस्कार दिए । मेलिथानले यो सारा धनराशि लगेर पियरेकी रोगी आमा भएको ठाउँमा पुगिन्, यो पैसाको असली हकदार पियरे हुन् भन्दै उनले सारा पैसा पियरेलाई दिइन् ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













