गण्डकी । हाइकर्स क्लब नेपालले हाइकिङका माध्यमबाट माछापुच्छ्रे गाउँपालिका–४ को रमणीय लाहाचोक गाउँको प्रवद्र्धन गरेको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूल नाराका साथ गर्दै आएको एकदिने छोटो पदयात्रा (हाइकिङ) को ३१औँ शृङ्खला लाहाचोकमा सम्पन्न गरिएको क्लबका संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।
पर्यटकीय सम्भावना रहेर पनि ओझेलमा परेका पोखरा र आसपासका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्ने गरिएको उनले बताए । लाहाचोकका व्यवसायी राजेन्द्र अधिकारीले लाहाचोकमा रहेका ऐतिहासिक देवीदेवताका मन्दिरसँगै पातीखोला गुफा, काल भैरव मन्दिर आदि गन्तव्यलाई प्रवद्र्धन गरिनु जरुरी रहेको बताए ।