काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै बजेटको आकार १४ प्रतिशतले घटाएका छन् । चालु आर्थिक वर्ष ७९/८० मा कुल बजेटबाट २ खर्ब ४४ अर्ब बजेट रकम घटाइएको हो । समीक्षामार्फत पौडेलले कुल बजेट १५ खर्ब ४९ अर्ब ९९ करोड हुने अनुमान गरेका छन् ।
यसअघिका अर्थमन्त्री जर्नादन शर्माले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएका थिए । आर्थिक वर्ष २४÷२५ पछि पहिलो पटक राजश्व संकलनमा नकरात्मक वृद्धिदर देखिएका छ । ०७९ को पुस सम्ममा ६ खर्ब ५१ अर्ब ६२ करोड लक्ष्य रहेकोमा २४.८ प्रतिशतले कम भई ४ खर्ब ९० अर्ब ४ करोड मात्रै राजस्व संकलन भएको छ ।
देशको विकास खर्च कम हुने र आयात बढ्दै जाने अवस्थाले अर्थतन्त्रलाई श्रीलंकाको बाटोतिर लैजान सक्ने भन्दै अर्थविद् चन्द्रमणि अधिकारी बजेट घटाउँदा मानिसहरुको आय पनि घट्ने टिप्पणी गर्छन् । देशको अर्थतन्त्र संकटग्रस्त छ । अर्थ चलायमान नभएकाले कतिपय उद्योग, व्यवसाय बन्द भइसकेका छन् । बैँकले ऋण दिन नसक्ने, मानिसहरुले धेरै खर्च नगर्ने, स्वदेशी उत्पादन कम हुनु, आयात बढ्नु, मूल्यवृद्धि दर लगायतका कारणले आर्थिक मन्दि आउन सक्ने अर्थविद् अधिकारीको आँकलन छ ।
कृषि तथा पर्यटन व्यवसायमा सुधार, उद्योगी तथा व्यवसायीलाई कम ब्याजमा कर्जा उपलब्ध गराउने, ऋणको ब्याज तत्काल कम गर्ने, जलविद्युत् आयोजनालाई प्राथमिकतामा राख्ने लगायतका काममा सरकारको ध्यान जानसके देशको अर्थतन्त्र सुधार हुने देखिन्छ । देशमा अर्थ चलायमान हुन नसक्दा श्रीलंकामा जस्तो आर्थिक संकट आउन सक्ने छ ।