कर्णाली।यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले आज सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ ।
त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिनुभयो ।
उहाँका अनुसार, टेनिस, महिला तथा पुरुष खो–खो (बर्दिया), पौडी र सुटिङ (नेपालगञ्ज) हुनेछ ।
त्यस्तै, जुडो र कुस्ती (सल्यान), आइटिएफ तेक्वान्दो (दैलेख), महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल (जुम्ला), बुद्धिचाल (कालीकोट), शारीरिक सुगठन (पश्चिम रुकुम)मा हुनेछ ।
सदस्यसचिव मेहत्ताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक÷एक खेल हुनेछन् ।
त्यस्तै, बाँके र बर्दियामा दुई÷दुई खेल सञ्चालन गरिनेछ । केही खेल यही मङ्सिर ८ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक समुद्घाटन भने यही मङ्सिर १६ गते गरिने छ ।
प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरिएको छ ।


















