काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठपर्व आज सोमबार बिहान सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको चारदिने छठपर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले विधिपूर्वक सूर्यलाई अर्घ्य दिएका हुन्।
पर्वको अन्तिम दिन बिहानैदेखि व्रतालुहरू छठघाट, नदी, पोखरी तथा जलाशयमा पुगेर उदाउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका थिए।
छठपर्वको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। त्यसपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठको सम्पूर्ण विधि पूरा भएको हो।
काठमाडौँको कमलपोखरीलगायत विभिन्न जलाशयमा छठपर्व मनाइएको छ। त्यसैगरी तराई–मधेसका जिल्लाहरूमा पनि नदी, पोखरी तथा छठघाटमा भक्तजनको उल्लेख्य सहभागितासहित पर्व मनाइएको छ।
छठपर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।




















