काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बदली रहनेछ । बाँकी हिमाली भूभाग, पहाडी क्षेत्रका साथै मधेस प्रदेशमा आंशिक बदली हुनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भूभागका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।




















