काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्र सचिव अमृतबहादुर राई सँग भेटवार्ता गर्नुभएको छ। भेटमा नेपाल–अमेरिका साझेदारीलाई थप सुदृढ बनाउने तथा नेपालमा बाढीपहिरोबाट प्रभावित समुदायलाई उपलब्ध गराइएको अमेरिकी सहयोगको निरन्तर कार्यान्वयनका विषयमा छलफल भएको छ।

अमेरिकी दूतावासका अनुसार, गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि नेपाललाई उपलब्ध गराइएको ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहायता निरन्तर परिचालन भइरहेको छ।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले बेपत्ता अमेरिकी नागरिकहरूको खोजी तथा पहिचानका लागि परराष्ट्र सचिव राई ले गर्नुभएको प्रयासप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले अगस्ट २६ र अक्टोबर ११ मा आएका बाढीबाट प्रभावित नेपाली समुदायप्रति अमेरिकी सरकारका तर्फबाट समवेदना तथा सहानुभूति पनि व्यक्त गर्नुभयो।
यस भेटले विपद् व्यवस्थापन, मानवीय सहायता तथा द्विपक्षीय सहकार्यका क्षेत्रमा नेपाल–अमेरिका सम्बन्धलाई थप प्रभावकारी बनाउने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।













