काठमाडौं । नेपालको इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले दुवै ऐतिहासिक व्यक्तित्वको योगदानको स्मरण गर्दै टिकट जारी गरेको हो। यस अवसरमा प्रथम दिवसीय टाँचा पनि लगाइएको छ।
प्रथम दिवसीय टाँचा लगाउने अवसर पाउँदा गर्व र सन्तुष्टि महसुस भएको विक्रम तिमिल्सिनाले बताएका छन्। उनले यस कार्यका लागि हुलाक सेवा विभाग र संलग्न सबैलाई धन्यवाद दिएका छन्।
तिमिल्सिनाले बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा टिकट प्रकाशन हुनुलाई नेपालको इतिहासलाई समावेशी ढंगले बुझ्ने र राष्ट्र निर्माणमा दलित समुदायले पुर्याएको योगदानलाई उचित मान्यता दिने महत्त्वपूर्ण कदमका रूपमा लिएका छन्।
‘राष्ट्रको इतिहास कुनै एक व्यक्ति वा समुदायको योगदानले मात्रै बनेको हुँदैन। तर, इतिहास निर्माणमा योगदान दिएका सबैले समान सम्मान पाउन सकेका छैनन्,’ तिमिल्सिनाले भनेका छन्, ‘बिसे नगर्ची र बाङ्गे सार्कीको योगदानलाई राष्ट्रिय पहिचान दिनु ऐतिहासिक रिक्तता पूरा गर्ने दिशामा अर्थपूर्ण कदम हो।’
इतिहासमा योगदान पुर्याउने सबै व्यक्तित्वको सम्मान हुनु न्यायपूर्ण समाजको आधार भएको उनको भनाइ छ। उनका अनुसार यो पहल दुई व्यक्तिको सम्मानमा मात्र सीमित नभई समग्र दलित समुदायको आत्मसम्मान, पहिचान र गौरवसँग समेत जोडिएको छ।
नेपाल एकीकरणका बेला गोर्खाका राजा पृथ्वीनारायण शाहलाई आर्थिक तथा रणनीतिक सल्लाह दिएको मानिने बिसे नगर्ची र हातहतियार तथा छालाका सामग्री निर्माणमा योगदान पुर्याएका बाङ्गे सार्की नेपाली इतिहासका महत्त्वपूर्ण व्यक्तित्वका रूपमा चिनिन्छन्।
उनीहरूको सम्मानमा हुलाक टिकट प्रकाशन हुनुले राष्ट्र निर्माणमा योगदान दिएका, तर इतिहासमा अपेक्षित स्थान नपाएका व्यक्तित्वलाई पहिचान र सम्मान गर्ने प्रयासलाई थप बल पुर्याएको छ।













