काठमाडौं – शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न गएकी थिइन्। सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो। त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरे ।
प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंह घाइते बने । घटनाको विरोधमा चिकित्सकहरूले प्रर्दशन गरे । चौतर्फी आलोचना भयो । अन्ततः सरकराले चिकित्सक सँग ६ बुँदै सहमति गरेपछि आन्दोलनका कार्यक्रम स्थगित भयो ।
यो विशिष्ट व्यक्ति सवारीका समयमा भएको विवादको पछिल्लो घटना हो । जब राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री राजकीय, औपचारिक र अनौपचारिक भ्रमणमा निस्कँदा जनस्तरबाट भ्रमण शैलीको तीव्र आलोचना हुन्छ । भ्रमणक्रममा हुने जाम सर्वसाधारणको टाउको दुखाइ बन्दै आएको छ ।
राष्ट्रप्रमुख तथा उच्चपदस्थ व्यक्तित्व (भिभिआइपी) को सवारीलाई व्यवस्थित गर्न नसक्दा सर्वसाधारणले यसरी नै बारम्बार सास्ती खेप्दै आइरहेका छन् । राष्ट्रप्रमुखको स्वदेश या विदेश भ्रमणका क्रममा सडक खाली गरिँदा ट्राफिक लामो समयसम्म अस्तव्यस्त हुँदा सर्वसाधारण जामको सास्ती भोग्दै आएका छन्।
नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारी भिभिआइपीको सवारी हुँदा सडक नै खाली गर्ने परम्परा गलत रहेको बताउँछन् । राष्ट्रप्रमुखको सवारी हुँदा सडक नै बन्द गर्ने परम्पराबाट जनताले अपमानबोध गर्ने गरेको उनको अनुभव छ । ‘जनतालाई खिन्न बनाउने यस्तो अनावश्यक परम्परामा बन्देज लगाउनुपर्छ,’ उनले भने।
राष्ट्रप्रमुख तथा उच्चपदस्थ व्यक्तित्वको सवारीको समयमा हुने ट्राफिक जामको व्यवस्थापनका लागि छुट्टै कार्यनीति ल्याउनुपर्ने उनको । ‘सकभर सवारी छोटो बाटोबाट हुनुपर्छ । अनि जाम कम हुने सम्भावना रहन्छ,’ उनले भने, ‘मिश्रित सडक भएकाले नै समस्या आएको हो । त्यसैले हेलिकप्टर प्रयोग गरेर पनि सडकको जाम हटाउन सकिन्छ।’