चितवन। यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) मा दुई लाख १२ हजार ९७७ जनालाई सेवा दिएको छ । ती बिरामीमध्ये २७ हजार २४३ नयाँ बिरामी हुन् भने बाँकी पुनः परीक्षणका लागि आएका बिरामी हुन् ।
अस्पतालले आफ्नो वार्षिकोत्सव एवं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा हरेक वर्ष असोज १० गते यो तथ्याङ्क सार्वजनिक गर्ने गर्दछ । अस्पतालका डा सुशील अधिकारीका अनुसार सन् २०२५ मा आएका बिरामीमध्ये ६ हजार ८५८ जना क्यान्सरका नयाँ बिरामी पत्ता लागेका छन् ।
सन् २०२४ मा दुई लाख चार हजार ९७१ जना बिरामीले बहिरङ्ग सेवा लिएका थिए । उनीहरुमध्ये ३१ हजार ५६० नयाँ रहेका थिए । सो वर्ष सात हजार नौ जना नयाँ क्यान्सरका बिरामी पत्ता लागेको उहाँको भनाइ छ ।
सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएको जानकारी दिँदै डा अधिकारीले ११ हजार ५५९ जना बिरामीले अन्तरङ्ग (भर्ना भएर) सेवा लिएको बताउनुभयो । अस्पतालमा सोही अवधिमा ठूला तीन हजार ९१ शल्यक्रिया गरिएको छ ।
सन् २०२४ मा आकस्मिक कक्षबाट ३० हजार ८०१ जनाले सेवा लिएका थिए भने १२ हजार ४७ जना भर्ना भएर सेवा लिएको उहाँले जानकारी दिनुभयो । सो वर्ष तीन हजार १६९ ठूला शल्यक्रिया (मेजर अप्रेसन) गरिएको, २७ हजार ४९३ जनाले ‘डे केयर’ सेवा लिएको अस्पतालको तथ्याङ्क रहेका छन् ।
सन् २०२५ मा अस्पतालमा विकीरण प्रविधि (सेकाई) बाट उपचार गराउनेको सङ्ख्या दुई हजार ९७० छ भने डे केयरमा भर्ना भएर ‘केमो थेरापी’ लिनेको सङ्ख्या २६ हजार ४७२ रहेको उहाँको भनाइ छ ।
एक वर्षको अवधिमा ११ हजार बढी विपन्न बिरामीको निःशुल्क उपचार पाएका छन् । अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्नको निःशुल्क उपचार गरेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार विपन्नको उपचारबापत रु ४३ करोड १२ लाख १४ हजार १६१.१६ बिरामीले छुट पाएका छन् ।
यसैगरी क्यान्सर सेवा समाजमार्फत १७६ जनाले छुट पाएका छन् । सो बापत बिरामीले रु १५ लाख ७३ हजार १४५ छुट पाएका हुन् ।
सन् २०२४ मा नौ हजार ११२ जनाले विपन्न सेवा पाएका थिए । त्यसबापत उनीहरुले रु ३५ करोड ५८ लाख २२ हजार २०६.९५ छुट पाएका थिए । सो वर्ष क्यान्सर सेवा समाजमार्फत २१५ जनाले रु १३ लाख ९० हजार ३६४ छुट पाएको उहाँले जानकारी दिनुभयो ।
पाँच सय शय्याको अस्पतालमा आइसियू, एचडियु र क्याबिन बाहेकका सम्पूर्ण जनरल बेडहरु निःशुल्क दिँदै आएको डा नेपालले बताउनुभयो । अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीलाई दुई छाक खाना र एक छाक नास्ता अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको डा नेपालको भनाइ छ ।
अस्पतालमा ७१८ कर्मचारी कार्यरत छन् । तीमध्ये एक सय जना चिकित्सक हुन् भने २९५ जना नर्स कार्यरत छन् ।
सरकारबाट स्वायत्त संस्थाका रुपमा विसं २०५३ मा ऐनमार्फत उपचार, अनुसन्धान, निवारण रोकथामको उद्देश्यले अस्पताल स्थापना भएको हो । चीन सरकारले निर्माण गरेको यस अस्पताल सुरुमा एक सय शय्या रहेकामा अहिले ५०० शय्याको भएको छ । यहाँ नेपालभर र भारतबाट पनि बिरामी उपचारका लागि आउने गर्दछन् ।













