भक्तपुर । भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर हरितालिका तीजको अवसरमा पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ ।
तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापना गरिएको उक्त मन्दिर तीजको व्रत बसेका श्रद्धालुलाई दर्शनमा सहज होस् भन्ने उद्देश्यले आज बिहानदेखि खुला गरिएको संस्कृति अध्येता गणेश रञ्जितकारले जानकारी दिए ।
मन्दिरका पुजारी प्रमिलराज सुवेदीका अनुसार यसअघि केदारनाथ मन्दिर बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिको दिन गरी वर्षमा दुईपटक मात्र खुला गरिँदै आएको थियो ।
तीजका अवसरमा मन्दिर खुला गरिएसँगै दर्शनका लागि पुग्ने महिला श्रद्धालुको सहभागिता बाक्लिएको छ । मन्दिर दिनभर खुला रहने जनाइएको छ ।
स्थानीय सबिना बोहजुले पहिलोपटक मन्दिरभित्र प्रवेश गरी केदारनाथको दर्शन गर्न पाउँदा खुसी लागेको बताइन् । उनका अनुसार विसं २०७२ को भूकम्पका क्रममा मन्दिरमा क्षति पुगेपछि भित्र रहेको महादेवको मन्दिर बाहिरबाटै दर्शन गर्नुपर्ने अवस्था थियो ।
“भूकम्पपछि बाहिरबाटै महादेवको दर्शन गर्दै आएका थियौँ । आज पहिलोपटक भित्र गएर दर्शन गर्न पाएँ,” उनले भनिन् ।
यसैबीच, भक्तपुर सम्पदा संरक्षण समूहले तीजको अवसरमा भक्तपुर दरबार स्क्वायरमा रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य महाआरती आयोजना गर्ने भएको छ ।
समूहका संयोजक सत्यराम सुवालका अनुसार तीजको दिन साँझ चारधाम क्षेत्रमा एकै समयमा महाआरती सञ्चालन गरिनेछ । धार्मिक तथा आध्यात्मिक महत्व बोकेको कार्यक्रममा तीजको व्रत बसेका तथा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ ।
संयोजक सुवालले साँझ आयोजना हुने महाआरतीमा सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आह्वान गरेका छन् ।













