काठमाडौं। भदौ १० गतेको बाढी र अविरल वर्षाले देशभरका सडक तथा यातायात पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक आकलनअनुसार क्षतिग्रस्त सडक र पुलहरूको पुनर्निर्माणका लागि ७३ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले सडक र पुलको सञ्जालमा परेको गम्भीर असरलाई उजागर गरेको छ। देशभर करिब ६९ किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, ३७ वटा मोटरेबल पुल प्रभावित भएका छन्, जसमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन्। ग्रामीण भेगका ६८ वटा झोलुङ्गे पुलमा क्षति पुग्दा ५३ वटा पूर्ण रूपमा नष्ट भएका छन्।
राजधानी काठमाडौं जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ सबैभन्दा बढी प्रभावित छन्। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नदी कटानका कारण सडक बगेपछि यातायात पूर्ण रूपमा अवरुद्ध छ। सो स्थानमा २५० मिटर नयाँ ट्र्याक खोल्ने कार्य भइरहेको छ। त्रिभुवन राजपथको नागढुंगा नजिक पहिरोका कारण एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेका छन्।
विभिन्न स्थानमा मर्मत र वैकल्पिक मार्गको प्रयोगमार्फत यातायात सुचारु गर्ने प्रयास जारी छ। रसुवा जोड्ने त्रिशूली-बेत्रावती खण्ड क्षतिग्रस्त भएपछि मध्यपहाडी राजमार्ग हुँदै पासाङ ल्हामु राजमार्ग जोड्ने विकल्प प्रयोगमा ल्याइएको छ। नुवाकोटको देवीघाटमा भत्किएको पुलको विकल्पमा बेलिब्रिज जडान गरी यातायात सञ्चालनमा ल्याइएको छ।
सबैभन्दा चुनौतीपूर्ण मानिएको चिलिमे हाइड्रोपावर क्षेत्रमा नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी तुइन जडान गरिरहेको छ। बेत्रावतीमा बेलिब्रिज जडानको तयारी भइरहेको छ।
पुल निर्माण तथा पुनर्स्थापना कार्यदलका संयोजक धर्मेन्द्र झाका अनुसार फाउन्डेसन निर्माणको काम सकिएलगत्तै १५ दिनभित्र बेलिब्रिज जडान सुरु हुनेछ। झाले भने, ‘अहिले हामीले बेत्रावतीमा अमेरिकन ब्रिज जोड्ने योजना बनाएका छौँ। नयाँ फाउन्डेसन बनाउनुपर्ने भएकाले त्यसको काम सकिन ५-७ दिन लाग्छ। फाउन्डेसन र बाटो निर्माणको काम सकिनासाथ, करिब १५ दिनभित्र बेली ब्रिज जडानको काम सुरु भई २-३ दिनमै पुल तयार हुन्छ।’













