काठमाडौं । कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी नेपालमा हालै आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति प्रकट गरेकी छन्।
भेटका क्रममा बोल्डिनले बाढीपछि जारी खोज तथा उद्धार अभियानमा हराइरहेका अमेरिकी नागरिकसहित अन्य पीडितको खोजी तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको प्रयासप्रति धन्यवाद व्यक्त गरिन्।
अमेरिकी दूतावासका अनुसार, बाढीपछिको प्रतिकार्यमा अमेरिका नेपालसँग सहकार्य गर्दै अघि बढिरहेको छ। अमेरिकी नागरिकहरूको सुरक्षा र सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आफ्ना प्रियजनबारे जानकारी खोजिरहेका परिवारलाई सहयोग गर्न कन्सुलर सहायता थप गरिएको दूतावासले जनाएको छ।
त्यसैगरी, प्रभावित समुदायमा नेपाल सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यलाई सहयोग पुर्याउन अमेरिकाले विभिन्न मानवीय सहायता तथा स्रोत परिचालन गरेको छ।
अमेरिकाले बाढी प्रभावित नेपालका लागि ४० लाख अमेरिकी डलरभन्दा बढी मानवीय सहायता तथा सहयोग परिचालन गरेको जनाएको छ। उक्त सहयोगमा खाद्यान्न तथा आपत्कालीन राहत सामग्री, बन्दोबस्ती तथा आवश्यक उपकरण, विपद् पीडितको पहिचान तथा पुनर्लाभका लागि आवश्यक विशिष्टीकृत सामग्री र नेपाल प्रहरीसँग सहकार्य गरिरहेका एफबीआईका फरेन्सिक विशेषज्ञहरू समेत समावेश छन्।
एफबीआईका विशेषज्ञहरूले पीडितहरूको पहिचान गर्न तथा आफन्तहरूलाई आवश्यक जानकारी उपलब्ध गराउन नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका छन्।
नेपालले बाढीबाट भएको क्षति, विस्थापन तथा मानवीय आवश्यकताको मूल्यांकन गरिरहेका बेला अमेरिकाले आगामी दिनमा पनि नेपालसँग निकट सहकार्य र साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।












