काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थालेपछि स्वास्थ्यकर्मीले सरुवा रोग फैलिन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरेका छन्। दूषित पानी तथा सरसफाइको अभावका कारण झाडापखाला र हैजाजस्ता रोग फैलिन सक्ने सम्भावना बढेको चिकित्सकहरूले बताएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सकीय टोली नेपाली सेनाको सहयोगमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–लिङलिङमा उपचार सेवामा खटिएको छ। उपचारका क्रममा झाडापखालाका केही बिरामी देखिन थालेको उपचारमा संलग्न डा. सरोजकुमार गोहिवारले जानकारी दिए।
प्राकृतिक विपत्तिपछि प्रभावित नागरिकमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि देखिन थालेको चिकित्सकीय टोलीले जनाएको छ। बाढी र त्यसपछिको त्रासका कारण धेरै नागरिकमा मानसिक आघातसँग सम्बन्धित समस्या देखिएको डा. गोहिवारले बताए।
उनका अनुसार पुरानै स्वास्थ्य समस्या भएका बिरामीमा उच्च रक्तचाप, मधुमेह तथा घुँडा दुख्नेजस्ता समस्या बढी देखिएका छन्। नियमित रूपमा औषधि सेवन गरिरहेका बिरामीलाई आवश्यक औषधिको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनले बताए।
बाढी प्रभावित क्षेत्रमा दूषित पानीका कारण सरुवा रोग फैलिन सक्ने जोखिम उच्च रहेकाले चिकित्सक टोलीले स्थानीयवासीलाई व्यक्तिगत सरसफाइ तथा सुरक्षित खानेपानी प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
यसैबीच, प्रभावित क्षेत्रमा उच्च रक्तचाप र मधुमेहका नियमित औषधिको अभाव देखिएको छ। खाद्यान्न आपूर्ति र विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयवासी थप समस्यामा परेका छन्। विद्युत् अभावका कारण मोबाइललगायत सञ्चार उपकरण चार्ज गर्नसमेत कठिनाइ भइरहेको छ।
चिकित्सक टोलीले प्रभावित क्षेत्रमा आवश्यक औषधि, सुरक्षित खानेपानी तथा सरसफाइका सामग्रीको आपूर्ति तत्काल प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।













