नेपालगञ्ज (बाँके) ।“छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा कुरा गरेको तीन दिनपछि रसुवामा बाढीले सबै बगायो रे भन्ने सुनेँ । मेरी कान्छी बाँचिन् होला कि नहोला ?”
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ राजपुरकी ८३ वर्षीया खीमादेवी पुनमगरको मनमा अहिले यही प्रश्न घुमिरहन्छ। चाउरी परेको अनुहार, धमिलिँदै गएका आँखामा टिलपिलाएका आँसु र हातमा पटुकाको फेरो। त्यही फेरोले आँसु पुछ्दै उहाँ रसुवाको चीन सीमा नजिक खाजा पसल सञ्चालन गर्दै आएकी कान्छी छोरी एकमाया पुनमगर (केसी) लाई सम्झिरहनुभएको छ।
“छोरीले तिहारमा आउँछु भनेकी थिई। घर आउँछु भनेर फोन गरेकी छोरी आज कहाँ छे, के अवस्थामा छे भन्ने थाहा छैन,” खीमादेवीले भक्कानिँदै भन्नुभयो, “छोरी जीउँदै फर्केर आओस्, मलाई यत्ति चाहिएको छ।”
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्याएपछि खीमादेवीको मन छोरीको चिन्ताले छोपिएको छ। भदौ १० गते बाढीले सबै बगाएर बगर बनाएको खबर उहाँले माइली बुहारी तिलाकुमारी पुनमगरबाट सुन्नुभएको थियो।
बुहारीले मोबाइलमा बाढीको भिडियो देखाएपछि उहाँ झनै आत्तिनुभयो। त्यसयता उहाँका आँखाले छोरी आउने बाटो कुरिरहेका छन् भने कानले छोरीको आवाज सुन्न खोजिरहेको छ। तर फोनको घण्टी बज्दैन, कुनै खबर आउँदैन। आउने हरेक सूचनाले आशाभन्दा बढी डर पैदा गरिरहेको छ।
“मलाई केही चाहिँदैन,” खीमादेवीले आँसु पुछ्दै भन्नुभयो, “मेरी छोरी फर्केर आओस्। उसले फोनमा भनेजस्तै तिहारमा घर आओस्। म उसलाई आफ्नै आँखाले देख्न पाऊँ।”
४४ वर्षीया एकमाया विगत पाँच वर्षदेखि रसुवामा खाजाको पसल सञ्चालन गर्दै आउनुभएको थियो। श्रीमान् प्रकाश केसीसँग करिब १२ वर्षअघि कामको सिलसिलामा काठमाडौं पुग्नुभएकी उहाँले पछि रसुवामा व्यवसाय सुरु गर्नुभएको थियो। दुई छोराकी आमा एकमायाको पसलमा आफ्नै आफन्तसमेत काम गर्न पुगेका थिए।
बाढीपछि एकमाया पनि अन्य व्यक्तिजस्तै सम्पर्कविहीन हुनुभयो। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको बेपत्ता व्यक्तिको विवरणमा उहाँको नाम समावेश भयो। केही समयपछि उहाँको शव तनहुँको आँबुखैरेनी गाउँपालिका–४, पूर्वबेँसीमा भदौ ११ गते फेला परेको सरकारी विवरण सार्वजनिक भयो।
तर परिवारका लागि उक्त विवरणले अझै पूर्ण निश्चितता दिएको छैन। परिवारका सदस्यले त्यसलाई सहजै स्वीकार गर्न सकेका छैनन्। आमाको मनले त झनै छोरीको मृत्यु भएको मान्न सकेको छैन।
“मेरी छोरी नै हो भनेर म कसरी मानुँ ? उसले त घर आउँछु भनेर फोन गरेकी थिई,” खीमादेवीले भन्नुभयो, “मेरी छोरी कतै बाँचेर बसेकी पो छ कि ? एकपटक आएर ‘आमा’ भनेर बोलाइदिए पुग्छ।”
आफन्तसँगै बेपत्ता
एकमायासँगै कामका लागि रसुवा पुगेकी उहाँकी भतिजी जानकी घर्तीमगर र भतिज सेतुनाथ योगी पनि बाढीपछि बेपत्ता हुनुहुन्छ। बेरोजगार रहेका आफन्तलाई रोजगारीसँगै साथसमेत हुने भन्दै एकमायाले आफ्नै खाजा पसलमा काम गर्ने अवसर दिनुभएको थियो। तर रोजगारीको खोजीमा रसुवा पुगेका उनीहरूको परिवार अहिले एक–एक फोन र एक–एक खबरको प्रतीक्षामा छ।
राजपुर निवासी तिलक घर्तीमगरकी छोरी जानकी पनि बेपत्ता व्यक्तिको सूचीमा हुनुहुन्छ। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै दलालले रु. पाँच लाख ठगेपछि सहकारीबाट लिएको ऋण तिर्नुपर्ने भएपछि जानकी एकमायाको पसलमा काम गर्न रसुवा जानुभएको थियो।
छोरीलाई रसुवा नजान आग्रह गरेको सम्झँदै तिलकका आँखा रसाए।
“मैले छोरीलाई फर्क, त्यहाँ काम गर्न पर्दैन भनेको थिएँ। बरु म यहाँ विद्युतीय रिक्सा किनिदिन्छु भनेको थिएँ,” उहाँले भन्नुभयो, “तर उसले मानिन। ‘हैन बुवा, म यतै काम सिक्छु, पछि आफ्नै व्यवसाय गर्छु’ भन्थी।”
छोरीप्रति गर्व गर्दै उहाँले थप्नुभयो, “उ हाम्रो घरको छोरी होइन, छोरा थिई।”
छोरी बेपत्ता भएपछि भने त्यही घरमा अहिले सन्नाटा छ। परिवारको दिन कुनै खबर आउने आशामै बितिरहेको छ।
“आजसम्म छोरीको कुनै खबर आएको छैन। मन आत्तिएको छ,” तिलकले रुँदै भन्नुभयो, “जिउँदै छे जस्तो पनि लाग्छ, छैन जस्तो पनि लाग्छ। उसलाई केही भयो भने हामी कसरी बाँच्ने ?”
शोकले घेरिए पनि तिलकको मनले छोरी फर्कने आशा छाडेको छैन। सरकारी खोजीबाट कुनै सकारात्मक खबर आउने र ढिलोचाँडो छोरी घर फर्कने विश्वासमा परिवार बसेको छ।
‘घाइते भए पनि फर्किए पुग्छ’
जानकीसँगै काम गर्न रसुवा पुग्नुभएका राजपुरकै ४७ वर्षीय सेतुनाथ योगीको परिवार पनि यस्तै प्रतीक्षामा छ। दश महिनाअघि कामका लागि रसुवा पुग्नुभएका सेतुनाथका घरमा श्रीमती टिका योगी र दुई साना छोरा छन्। ३० वर्षीया टिका अहिले दुई छोराको अनुहार हेर्दै श्रीमान्को बाटो कुरिरहनुभएको छ।
“मेरा श्रीमान्लाई केही भयो भने मैले यी साना बाबुलाई कसरी हुर्काउने ?” टिकाले रुँदै भन्नुभयो, “उहाँ बाँचेर घाइते भएर मात्रै भए पनि फर्केर आउनुभयो भने म सबै सम्पत्ति बेचेर भए पनि उपचार गराउँथेँ। मलाई उहाँ घर फर्किनुभएको हेर्नु छ।”
बाढी आउनुभन्दा एक दिनअघि साँझ ५ बजे सेतुनाथले परिवारका सबै सदस्यसँग फोनमा कुरा गर्नुभएको थियो। आफू सुरक्षित रहेको र दसैँमा घर आउने बताउनुभएको थियो। त्यो फोन अहिले टिकाको मनमा बारम्बार दोहोरिन्छ।
“उहाँले दसैँमा घर आउँछु भन्नुभएको थियो। त्यो आवाज अझै कानमा गुन्जिरहेको छ,” टिकाले भन्नुभयो, “दसैँ आउँदा उहाँ साँच्चिकै घर फर्किनुहुन्छ कि भन्ने आशा छ।”
सेतुनाथका ७६ वर्षीय बुवा हीरानाथ योगीका लागि छोरा बुढेसकालको सहारा हुनुहुन्थ्यो। छोरा बेपत्ता भएको खबरपछि उहाँको अवस्था झनै कमजोर बनेको छ।
“मेरो बुढेसकालको सहारा थियो मेरो छोरो। के भयो नि यस्तो ?” हिरानाथले भक्कानिँदै भन्नुभयो, “मेरो छोरो बाँचेर आइदिए हुन्थ्यो। मेरो यति मात्र चाहना हो।”
उहाँका लागि अहिले धनसम्पत्ति, घरव्यवहार वा अन्य कुनै कुरा महत्वपूर्ण छैन। छोरा बाँचेर फर्किए पुग्छ।
“छोरो घरको ढोकामा आइपुगेको हेर्न पाएँ भने अरू केही चाहिँदैन,” उहाँले भन्नुभयो।
सुरेशको फोनको प्रतीक्षामा परिवार
रसुवाको भोटेकोशी बाढीले राजपुरका अर्का २३ वर्षीय सुरेश विकलाई पनि परिवारबाट टाढा बनाएको छ। भारतको हिमाचल प्रदेशमा बस्दै आएका सुरेश गाडीको लाइसेन्स बनाउने प्रक्रियाका लागि नेपाल आउनुभएको थियो। लाइसेन्सको प्रक्रिया पूरा हुन समय लागेपछि रसुवामा चिनियाँ सामान ओसारपसार गरी व्यापार गर्ने भन्दै उहाँलाई बोलाइएको थियो।
सुरेशकी काकी पवित्रा विकका अनुसार उहाँले बाढी आउनुभन्दा एक दिनअघि अर्थात् भदौ ९ गते साँझ परिवारसँग फोनमा कुरा गर्नुभएको थियो।
“सुरेशले फोन गरेर काम राम्रै चलेको छ भनेको थियो। दसैँमा घर आउँछु भनेको थियो,” पवित्राले भन्नुभयो, “त्यसपछि एकाएक बाढी आएको खबर आयो। अहिले उसको फोन आउँदैन।”
फोन नआए पनि परिवारले प्रतीक्षा गर्न छाडेको छैन।
“हामीलाई अझै पनि सुरेश कतै सुरक्षित छ कि भन्ने आशा छ,” उहाँले भन्नुभयो, “कुनै ठाउँमा उद्धार भएर बसेको भए एकपटक खबर गरिदिए पनि हाम्रो मन शान्त हुन्थ्यो।”
बाढीले घर, पसल, सडक र सम्पत्ति मात्र बगाएको छैन, धेरै परिवारको जीवनको भरोसा र भविष्यसमेत अनिश्चित बनाएको छ। रसुवाको विपत्तिपछि बाँकेका परिवारमा आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डर एकसाथ बढेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्कअनुसार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बाँकेसँग सम्बन्धित २७ जना बेपत्ता भएका छन्। उनीहरूका परिवार अहिले सरकारी खोजी तथा उद्धार टोलीबाट आउने खबरको प्रतीक्षामा छन्।
प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले अकल्पनीय जनधनको क्षति पुर्याएको बताउँदै बेपत्ता व्यक्तिको फोटोसहितको प्रोफाइल तयार गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभएको छ।
तर सरकारी तथ्याङ्कमा नाम चढ्नु र परिवारको मनले आफन्तलाई गुमाउनु एउटै कुरा होइन। आफन्त बेपत्ता हुँदासम्म परिवारले अन्तिम सत्य स्वीकार गर्न चाहँदैन। एउटा फोन, एउटा सन्देश वा उद्धारकर्ताको एउटा सकारात्मक खबरले उनीहरूको आशालाई फेरि बलियो बनाइदिन्छ।
खीमादेवीको घरमा पनि त्यही आशा बाँकी छ। तिलक घर्तीमगर छोरीको बाटो हेरिरहनुभएको छ। टिका योगी दुई साना छोरालाई काखमा च्यापेर श्रीमान् फर्कने प्रार्थना गरिरहनुभएको छ। हिरानाथ योगी बुढेसकालको सहारा फर्केर आउने सपना देखिरहनुभएको छ। पवित्रा विक सुरेशको फोन आउने प्रतीक्षामा हुनुहुन्छ।
उनीहरूका लागि अहिले एउटै चाहना छ—बेपत्ता आफन्तको कुनै खबर आओस्, सकुशल फर्केर घरको ढोकामा आइपुगून्।













