गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित चौँरीखर्कपारि ठूलो पहिरो खसेपछि बूढीगण्डकीको सहायक नदी स्यारखोला केही समय प्रभावित भएको छ।
स्थानीयका अनुसार सोमबार बिहान करिब १० बजे खसेको पहिरो स्यारखोलाको छेउसम्म पुगेको थियो। पहिरो ठूलो भए पनि खोलामा अहिले ताल बनेको अवस्था नरहेको र नदी ठाडो भएकाले पानी साविककै गतिमा बगिरहेको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाले पनि बूढीगण्डकी नदीमा पानीको बहाव सामान्य रहेको जनाएको छ।पहिरोका कारण थप जोखिम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै धादिङ–गोरखा हुँदै बग्ने बूढीगण्डकी नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित निकायले पहिरो र नदीको अवस्थाबारे निगरानी गरिरहेको जनाएको छ।













