काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद गर्दा ७० करोड कमिसन उजुरीबारे विस्तृत अनुसन्धान थालेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारले यस्तो जनाएको हो । अख्तियारको कामकारबाहीबारे जानकारी दिनेक्रममा आयोगका निमित्त सचीव पद्मा मैनालीले यस्तो बताएका हुन् । पूर्वमन्त्री गोकुल बास्कोटासमेत जोडिएको सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको आरोपसहित उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो । बास्कोटा तत्कालीन संचारमन्त्रीका रुपमा कार्यरत थिए ।
२०७६ फागुनमा सार्वजनिक भएको अडियोमा बास्कोटा र सुरक्षण मुद्रण प्रेसका लागि स्वीस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीच खरिद लागत र त्यसबाट आउने कमिसनबारे कुराकानी भएको अडियो बाहिरिएको थियो । सो विषयमा तत्कालीन सरकारको पालमा पनि निकै बहस भएको थियो । तत्कालीन संचारमन्त्री बास्कोटाले सो अडियो सामाजिक संजालमा सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए ।
अख्तियारका तत्कालीन प्रमुख आयुक्त प्रेमकुमार राईले २०८० सालमा संसद्को सार्वजनिक लेखा समितिमा सुरक्षण मुद्रण प्रेससम्बन्धी ७० करोडको टेप प्रकरणको अनुसन्धान भइरहेको बताएका थिए।












