काठमाडौं ।नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका इन्टर्न चिकित्सक डिल्ली हरिजनको जीवन रक्षा गर्न तथा उहाँले उठाएका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
पारिश्रमिक र श्रमको सम्मानलगायतका माग राख्दै हरिजन साउन १९ गतेदेखि आमरण अनशनमा बसिरहनुभएको छ।
साउन २० गते जारी विज्ञप्तिमा संघले अनशनरत चिकित्सकका मागप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै ‘समान कामको समान पारिश्रमिक’को व्यवस्था तत्काल लागू गर्नुपर्नेमा जोड दिएको छ। साथै, इन्टर्न चिकित्सकसम्बन्धी यसअघि गठित कार्यदलले दिएका सिफारिसहरू शीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी संयुक्त विज्ञप्तिमा इन्टर्न चिकित्सकले उठाएका माग न्यायोचित रहेको उल्लेख गर्दै अनशनरत चिकित्सकको स्वास्थ्य र जीवन रक्षाका लागि सरकारले तत्काल वार्ता सुरु गरी समस्या समाधानतर्फ अग्रसर हुनुपर्ने आग्रह गरिएको छ।














