एमाले उपाध्यक्ष विष्णु पौडेलले हिरासतमुक्त भएपछि पार्टी अध्यक्ष केपी ओलीलाई नै इग्नोर गरेका छन्।
पौडेलनिकट स्रोतका अनुसार ओलीले हिरासतबाट छुटेलगत्तै उनलाई भेट्न अनेकन् प्रयास गरे पनि भेट्न अस्वीकार गरेका हुन्। उनी यतिबेला महासचिव शंकर पोखरेलसँग मिलेर पार्टी पुनर्गठन अभियानको प्रतिवेदन लेखनमा व्यस्त रहेको स्रोतले बतायो।
अध्यक्ष ओलीलाई भेट नदिएका पौडेल बरू महासचिव शंकर पोखरेल, नेता ईश्वर पोखरेल (टेलिफोनमार्फत), उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायत नेताहरूसँग निरन्तर छलफलमा रहेको बुझिएको छ। गत आइतबार सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा ओलीले बोलाए पनि पौडेलले आफू अस्वस्थ रहेको भन्दै टारिदिएका थिए।
हिरासतबाट फर्किएपछि पारिवारिक र आफूनिकट नेताकार्यकर्ताहरूसँग राजनैतिक संवादमै रहेका पौडेल ओली–प्रचण्डको हिमचिम देखेर सशंकित देखिन्छन्। त्यसो त पौडेल पछिल्लो समय एमालेभित्र पार्टी पुनर्गठन अभियानको नेतृत्व गर्ने अग्रपंक्तिमै थिए।
देशका विभिन्न अभियानका क्रममा सुर्खेतबाट पक्राउ परेर सम्पत्ति शुद्धीकरणको हिरासतमा बसेका पौडेल हिरासतमुक्त भएलगत्तै अभियानको काममा फर्किएका छन्।
हिरासतबाट फर्किएपछि पौडेललाई ओलीले भेटेर फकाउन र प्रचण्डसँग पार्टी एकता, नभए गठबन्धनकै मतियार बनाउन इच्छुक थिए। तर, पौडेलले ओलीको सोही रणनीति बुझेर भेट्नै इग्नोर गरिदिएका हुन्।
‘मलाई राम्रोसँग थाहा छ उहाँ (ओली)को बानी। अब कुनै मायाजालमा फस्दिनँ, पुनर्गठन अभियानलाई टुंगोमा नपुर्याइ रोकिने होइन, त्यसपछि भेटौंला,’ पौडेलको भनाइ उद्धृत गर्दै उनीनिकट एक पोलिटब्यूरो सदस्यले भने।
यता ओलीको सचिवालयले पौडेलसँग निरन्तर भेटको प्रयास गरिरहेको खुलेको छ। ती पोलिटब्यूरो सदस्यका अनुसार सचिवालयले ओलीसँग भेट गराउन अनेकन् प्रयास गरिरहेका छन्। स्वयं ओलीको फोनसमेत इग्नोर गरेर बसेका पौडेलले उनको सचिवालयका मान्छेहरूलाई ‘पार्टी पुनर्गठनको प्रतिवेदनपछि मात्रै भेटौंला’ भन्ने जवाफ पठाएका छन्।
उनले आफू एमाले पुनर्गठन अभियानमा रहेकोले प्रचण्डसँग पार्टी एकता वा गठबन्धन गर्नेबारे कुरै नगर्न ओलीको सचिवालयमार्फत सन्देश पठाएका छन्।
असार २५ गते सम्पन्न कार्यदलको बैठकले प्रतिवेदन लेख्ने जिम्मा कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कार्यदलका सदस्य सचिव एवं महासचिव शंकर पोखरेललाई दिएको थियो।
तर, शंकर पोखरेलले पनि प्रतिवेदन लेखनमा बादललाई इग्नोर गरिदिएका छन्। पार्टी गतिविधिबाट अनिश्चितकालीन छुट्टीमा बसेका पोखरेल पौडेलसँग मिलेर प्रतिवेदन लेखनमा व्यस्त रहेको बुझिएको छ। कार्यदलको अर्को बैठकबाट प्रतिवेदन पारित गराएर केन्द्रीय सचिवालय बैठकमा पेस गर्ने उनीहरूको तयारी छ।
उपाध्यक्ष बादललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिएका ओलीले आफ्नो बहिर्गमनको मागलाई प्रतिवेदनमा समावेश नगर्न अनेकौं दबाब दिने प्रयास गरेका छन्। ओलीले आफ्नो बहिर्गमनबाहेक छलफलमा उठेका अन्य विषयमात्र प्रतिवेदनमा समेट्न निर्देश गरेका छन्।
महासचिव पोखरेलले भने अभियानका क्रममा विभिन्न भेला र छलफलमा नेता कार्यकर्ताहरूले भनेकै विषय प्रतिवेदनमा जस्ताको त्यस्तै उतारिने स्पष्ट पारिसकेका छन्।













