काठमाडौं, साउन — परराष्ट्रमन्त्री शिशिर खनालले आज परराष्ट्र मन्त्रालयमा नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक राजदूत (Chargé d’Affaires a.i.) स्कट अर्बोम तथा जनसम्पर्क प्रमुख माइक हार्करसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले माइक हार्करलाई सफलतापूर्वक सगरमाथा आरोहण सम्पन्न गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। उनले हार्कर विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो अमेरिकी कूटनीतिज्ञ बनेको उल्लेख गर्दै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रशंसा गरे।
परराष्ट्रमन्त्रीले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा हार्करले पुर्याएको योगदानको सराहना गर्दै आगामी दिनमा पनि संयुक्त राज्य अमेरिका तथा अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई विश्वस्तरीय साहसिक तथा प्राकृतिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

माइक हार्करले २० मे २०२६ मा सफलतापूर्वक सगरमाथाको आरोहण गर्दै विश्वको सर्वोच्च शिखरमा पुग्ने पहिलो अमेरिकी कूटनीतिज्ञको कीर्तिमान कायम गरेका थिए। उनको यो उपलब्धिलाई नेपाल–अमेरिका सम्बन्ध, पर्वतीय पर्यटन तथा नेपालका हिमाली गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ।
भेटवार्ताका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवर्द्धन तथा आपसी सहकार्यका विविध विषयमा समेत विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।













