जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्ले अब हिमाल, हिमनदी र भौतिक पूर्वाधार मात्र होइन, सयौँ वर्ष पुराना धार्मिक तथा सांस्कृतिक सम्पदासमेत जोखिममा पर्न थालेका छन्। सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत वर्ष आएको हिमताल विस्फोटजन्य बाढीले यस संकटलाई थप उजागर गरेको छ।
गत वर्ष साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे माथिका दुई हिमताल फुटेर आएको बाढीले घर, होटल, पुल, सडक र खेतीयोग्य जमिनसँगै बौद्ध धर्मावलम्बीका ऐतिहासिक माने, छोर्तेन र अन्य धार्मिक सम्पदामा अपूरणीय क्षति पुर्याएको थियो।
स्थानीयका अनुसार फाक्दिङदेखि नाम्चे र थामेसम्मको करिब २०० मिटर पदमार्ग कटान हुँदा करिब ६०० वर्ष पुराना एक हजार पाँच सयभन्दा बढी सम्बोटा लिपिमा कुँदिएका ‘माने’मध्ये ठूलो संख्या बाढीले बगाएको थियो। तीमध्ये अधिकांश बालुवा र ढुङ्गामुनि पुरिएर हराएका छन्।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार हिन्दूकुश–हिमालय क्षेत्र विश्वको औसतभन्दा तीव्र गतिमा तातिरहेको छ। तापक्रम वृद्धिसँगै हिमनदी पग्लने, हिमताल विस्तार हुने र हिमताल विस्फोटजन्य बाढीको जोखिम बढ्दै जाँदा हिमाली सांस्कृतिक सम्पदामाथि पनि गम्भीर खतरा सिर्जना भएको छ।
स्थानीय पर्यटन व्यवसायी तथा बौद्ध समुदायका अगुवाहरूका अनुसार ‘माने’ केवल ढुङ्गामा कुँदिएका धार्मिक प्रतीक मात्र नभई हिमाली शेर्पा समुदायको इतिहास, कला, भाषा र पहिचानका जीवन्त अभिलेख हुन्। तर जलवायुजन्य विपद्का कारण यस्ता सम्पदा पुनःस्थापना गर्न अत्यन्त कठिन बन्दै गएको छ।
थामे गाउँको ऐतिहासिक प्रवेशद्वार, धार्मिक संरचना तथा पुराना पदमार्गमा समेत क्षति पुगेपछि सगरमाथा क्षेत्रमा आउने पर्यटकको सांस्कृतिक अनुभवमा असर परेको पर्यटन व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार प्राकृतिक सौन्दर्यसँगै हिमाली संस्कृति नै यस क्षेत्रको मुख्य आकर्षण भएकाले यस्ता सम्पदाको संरक्षण अपरिहार्य छ।
स्थानीय सरकारका अनुसार बाढीपछि केही मानेका ढुङ्गा सङ्कलन गरिए पनि पुरानै स्वरूपमा पुनर्निर्माण गर्न आवश्यक दक्ष जनशक्तिको अभाव ठूलो चुनौती बनेको छ। परम्परागत शैलीमा सम्बोटा लिपि कुँद्न सक्ने कारीगरको संख्या घट्दै गएकाले सांस्कृतिक सम्पदा संरक्षण थप जटिल बनेको छ।
स्थानीय समुदायले पुरातत्व विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्थानीय सरकार तथा अन्तर्राष्ट्रिय संरक्षण निकायबीच समन्वय गरी हिमाली धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।













