काठमाडौं । साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
आइतबार बिहान कान्सास सिटी स्टेडियममा सम्पन्न अन्तिम क्वाटरफाइनलमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुई गोल थप्दै अर्जेन्टिनाले प्रभावशाली जित दर्ता गर्यो।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लौटारो मार्टिनेजले समान एक–एक गोल गरे। स्विट्जरल्यान्डका लागि डान एनडोएले एक गोल फर्काए।
खेलको १०औँ मिनेटमा लियोनल मेस्सीको कर्नरलाई म्याक एलिस्टरले सदुपयोग गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६७औँ मिनेटमा डान एनडोएले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा ल्याए ।
७२औँ मिनेटमा ब्रेल एम्बोलो दोहोरो पहेँलो कार्डपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसपछि पनि निर्धारित समयसम्म दुवै टोलीले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको ११२औँ मिनेटमा जोसे लोपेजको उत्कृष्ट पासमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । त्यसपछि अतिरिक्त समयको इन्जुरी समयमा लौटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित ३–१ ले सुनिश्चित गरेका हुन् ।
यससँगै अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्याण्डसँग भेट पक्का गरेको छ । इंग्ल्याण्डले यसअघि भएको क्वाटरफाइनलमा नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।













