जुम्ला, २३ असारः कृषि विकास कार्यालय जुम्लाले सिँचाइका लागि पक्की कुलो निर्माण गरेपछि यहाँका किसानलाई सहज भएको छ । कार्यालयले तिला गाउँपालिका-४ मा रु १४ लाख २८ हजार अनुदान रकम र तीन लाख ७२ हजार अनुदानग्राहीको सहभागितामा उपभोक्ता समितिबाट पक्की सिँचाइ कुलो निर्माण गरिएको हो ।
पक्की कुलो र ट्याङ्की निर्माण भएपछि यहाँका एक सयभन्दा बढी किसान लाभान्वित भएका कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार तातोपानी गाउँपालिका-१ मा रु १४ लाख ४० हजार अनुदानमा पक्की कुलो निर्माण सम्पन्न भएको छ । खेतमा कृषि सिँचाइ पक्की कुलो निर्माण भएपछि उक्त वडाका करिब ४२५ जना लाभग्राहीलाई सहज भएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, कार्यालयले स्याउ ओखर विकास कार्यक्रमअन्तर्गत तातोपानी-५ स्थित एैरेनीमा रहेको घराला तरकारी उत्पादन उद्योगलाई स्याउका बिरुवा खरिद, खाडल खन्ने, पानी तान्ने मोटर र बगैँचा घेराबारमा रु पाँच लाख ५२ हजार अनुदान प्रदान गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।
पातारासी-६ मा कार्यालयले तरकारी सिँचाइ प्रवद्र्धन कार्यक्रम, नर्सरी स्थापना तथा व्यवस्थापन र नौमुडे बहुद्देश्यीय कृषि फार्मलाई पनि अनुदान वितरण गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गैरीनन्द आचार्यले कार्यालयबाट प्राप्त गरेका अनुदानका ठूला योजनाको दीर्घकालीन रूपमा कार्यान्वय गर्नका लागि थप जिम्मेवारी भएर कार्यालयले गुणस्तरीय काम गर्ने आवश्यक रहेको बताउनुभयो ।
पक्की कुलो निर्माण भएपछि मार्सीधान लगाएको खेतबारीमा सिँचाइ गर्ने सहज भएको तातोपानी गाउँपालिका-१ का स्थानीय कलबहादुर कठायतले जानकारी दिनुभयो ।
चालु आवभित्र सम्पन्न भएका कृषि विकास कार्यालयका तिला, तातोपानी र पातारासी गाउँपालिकामा निर्माण सम्पन्न भएका विभिन्न योजना कार्यक्रमको सरोकारवालबाट संयुक्त रुपमा सोमबार अनुगमन गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको ।













