काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवाद र संवादका बीच नेता पूर्णबहादुर खड्काले उपसभापति विश्वप्रकाश शर्माले आफू र डा। शेखर कोइरालालाई ‘वरिष्ठ नेता’ बनाउने प्रस्ताव राखेको तर आफूले त्यसलाई स्वीकार नगरेको बताएका छन्।
कांग्रेसको इतर समूहको बैठकमा धारणा राख्दै खड्काले पार्टीभित्र सहमति खोज्ने प्रयासस्वरूप सातबुँदे प्रस्तावमा आफूले लिखित प्रतिक्रिया उपसभापति शर्मालाई बुझाएको जानकारी दिए। उनका अनुसार प्रारम्भिक छलफलपछि टाइप गरिएको जवाफ पढेर सुनाइएको थियो र त्यसलाई अन्तिम सहमतिको आधारका रूपमा लिइएको थियो।
खड्काले बैठकमा भने, छलफलपछि बाहिरिने क्रममा विश्वप्रकाश शर्माले आफू र डा। शेखर कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव राखेका थिए। तर आफूले उक्त प्रस्ताव स्वीकार नगरी अस्वीकार गरेको उनको दाबी छ।
उनका अनुसार त्यसपछि पार्टी नेतृत्वबाट कुनै औपचारिक जानकारी नआए पनि शीर्ष नेताहरूको क्रियाशील सदस्यता स्वतः नवीकरण हुने विषय सार्वजनिक भएपछि कार्यकर्ताबीच अन्योल सिर्जना भएको थियो। देशभरबाट आएका जिज्ञासापछि आफूले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका समाचारको खण्डन गरेको उनले बताए।
खड्काले पार्टीभित्र संवाद चलिरहेकै अवस्थामा संवाद नभएको भन्ने अभिव्यक्ति आएकोप्रति पनि असन्तुष्टि जनाए। साथै केही सञ्चारमाध्यममा स्रोतलाई उद्धृत गर्दै सातबुँदे प्रस्ताव पाँच नेतासम्म पुगेको समाचार प्रकाशित भएपछि त्यसबारे पनि बैठकमा जानकारी गराइएको बताए।
उनले आफूले राखेका धारणा कुनै स्पष्टीकरण नभई बैठकलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउने उद्देश्यले प्रस्तुत गरिएको स्पष्ट पारे। कांग्रेसभित्र देखिएको विवाद र सहमतिका प्रयासबारे आगामी दुई–तीन दिनभित्र थप छलफल हुने तथा साउन ६ गते बीपी कोइराला जयन्ती विशेष कार्यक्रमका साथ मनाउने तयारी रहेको जानकारी पनि बैठकमा दिइएको उनले बताए।













