नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिज तथा युके तयारी भ्रमणका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।
घोषित टोलीमा अनुभवी विकेटकिपर–ब्याटर विनोद भण्डारी र युवा खेलाडी अर्जुन कुमालले स्थान बनाएका छन्। यस्तै, साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरा वैकल्पिक खेलाडीका रूपमा राखिएका छन्।
टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।
तयारी भ्रमणअन्तर्गत नेपालले जर्सीसँग जुलाई १३ र १५ मा दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ। त्यसपछि जुलाई २१ देखि ३१ सम्म नेदरल्यान्ड्समा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
हाल नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा २८ खेलबाट २४ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ।














