प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारीमा देखिएका समस्या तथा धर्मान्तरणका विषयमा सांसदहरूले गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
बैठकमा सांसद ज्ञानु पौडेलले भारतबाट उद्धार गरिएका ४५३ नेपाली नागरिकको विषय उठाउँदै मानव तस्करीको जालोमा नेपाली युवाहरू फसिरहेको बताइन्। उनले विभिन्न प्रलोभनमा पारेर नेपालीलाई भारत लगिने, नेटवर्किङ व्यवसायमा संलग्न गराइने तथा शारीरिक र मानसिक यातना दिने घटना बढिरहेको उल्लेख गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिन्। उद्धार कार्य सफल भएकोमा उनले सरकारलाई धन्यवाद पनि दिइन्।
त्यस्तै सांसद बलावती शर्माले महिला हिंसाका घटना बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरिन्। उनले हिंसापीडित महिलाहरू प्रहरीमा उजुरी दिनसमेत डराउने अवस्था रहेको र उजुरीपछि पनि अपेक्षित न्याय नपाउने समस्या विद्यमान रहेको बताइन्।
सांसद आरेन राईले इजरायल केयरगिभर परीक्षाको स्थगनका कारण हजारौँ परीक्षार्थी अन्योलमा परेको उल्लेख गर्दै परीक्षासम्बन्धी अन्योल तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे।
यसैबीच सांसद खुश्बु ओलीले जबर्जस्ती धर्मान्तरण कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै संविधान र कानुनले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिइन्। उनले बलपूर्वक वा प्रलोभनमा पारेर गरिने धर्म परिवर्तनका गतिविधि रोक्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरिन्।












