पूर्वी नेपालका बिरामीलाई लक्षित गर्दै विराट मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक उपचार सेवाअन्तर्गत हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस उपचार पद्धति सञ्चालनमा ल्याएको छ। अस्पतालका अनुसार यी दुवै सेवा पूर्वी नेपालमै पहिलोपटक उपलब्ध गराइएको हो।
हेमोपर्फ्युजन उपचार विधिमार्फत बिरामीको रगतलाई विशेष फिल्टरबाट प्रवाह गराई शरीरमा रहेका विषाक्त पदार्थ, हानिकारक औषधिको असर तथा विभिन्न रासायनिक तत्वहरू हटाइन्छ। यो प्रविधि विशेषगरी विष सेवन, औषधिको अत्यधिक मात्रा सेवन (ओभरडोज) तथा गम्भीर संक्रमण (सेप्सिस) भएका बिरामीको उपचारमा प्रभावकारी मानिन्छ।
त्यसैगरी, प्लाज्माफेरेसिस विधिमा रगतको प्लाज्मा भागबाट हानिकारक एन्टिबडी र विषाक्त पदार्थहरू छुट्याएर हटाइन्छ। यो उपचार स्नायु प्रणालीसँग सम्बन्धित रोग तथा मृगौलाका जटिल समस्याबाट पीडित बिरामीहरूको उपचारमा उपयोगी हुने चिकित्सकहरूको भनाइ छ।
अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर फिजिसियन डा. दीपक पौडेलले यी सेवाको सुरुवातसँगै पूर्वी नेपालका बिरामीहरूलाई उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता कम हुने बताउनुभयो।
उहाँका अनुसार अत्याधुनिक प्रविधिमा आधारित यी उपचार सेवाले बिरामीलाई आफ्नै क्षेत्रमा विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेछ। साथै, उपचारका लागि टाढा जानुपर्ने अवस्था हट्दा बिरामी तथा उनका परिवारमाथि पर्ने आर्थिक र शारीरिक भारसमेत कम हुने अपेक्षा गरिएको छ।
अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै क्षेत्रीय स्तरमै विशेषज्ञ उपचार उपलब्ध गराउने लक्ष्यअनुरूप नयाँ सेवा विस्तार गरिएको जनाएको छ।












