अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपसचिव साराह बी. रोजर्स नेपाल भ्रमणमा रहेकी छन्। नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदा संरक्षण, खुला समाजका मूल्य तथा दिगो पर्यटन विकासमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित उनी नेपाल आएकी हुन्।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार रोजर्सले काठमाडौंमा आयोजित ‘एसेन्ट समिट २०२६’ को उद्घाटन सत्रमा मुख्य सम्बोधन गरेकी छन्। विश्व पर्वतारोहण, हिमाली अभियान पर्यटन तथा साहसिक नेतृत्व क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकी दूतावास नेपाल र सेभेन समिट ट्रेक्सको संयुक्त आयोजनामा सम्पन्न भइरहेको छ।
सम्मेलनमा सगरमाथा तथा हिमाली पर्यटनको भविष्य, सुरक्षित आरोहण, दिगोपन, नेतृत्व, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा व्यापक छलफल भइरहेको छ।

भ्रमणका क्रममा उपसचिव रोजर्सले नेपाल सरकारका वरिष्ठ अधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधि तथा अमेरिकी सरकारका विभिन्न आदानप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
दूतावासका अनुसार शिक्षा, आर्थिक विकास, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा नेपाल–अमेरिका सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले यी भेटघाटहरू आयोजना गरिएको हो। साथै अभिव्यक्ति स्वतन्त्रता, डिजिटल स्वतन्त्रता, समावेशी विकास र नवप्रवर्तनलाई खुला समाज तथा दीर्घकालीन आर्थिक समृद्धिका आधारका रूपमा प्रवर्द्धन गरिने जनाइएको छ।
रोजर्सले नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको पनि अवलोकन गर्नेछिन्। उनले युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रको भ्रमण गरी अमेरिकी सहयोगमा भइरहेका संरक्षण प्रयासबारे जानकारी लिने कार्यक्रम छ।
त्यसैगरी अमेरिकी राजदूत सांस्कृतिक सम्पदा संरक्षण कोष (एएफसीपी) अन्तर्गत संरक्षण भइरहेका सातवटा सम्पदा स्थलको समेत अवलोकन गर्नेछिन्। ती परियोजनाले नेपालको समृद्ध सांस्कृतिक तथा धार्मिक सम्पदा जोगाउन महत्वपूर्ण योगदान पुर्याइरहेको दूतावासले जनाएको छ।
अधिकारीहरूका अनुसार एएफसीपीमार्फत सञ्चालित कार्यक्रमले स्थानीय समुदायको जीवन, धार्मिक परम्परा तथा पर्यटन अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएका ऐतिहासिक संरचनाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन्। यसले भावी पुस्ताका लागि सम्पदा सुरक्षित राख्नुका साथै दिगो पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्याइरहेको छ।
दूतावासले रोजर्सको भ्रमणले सांस्कृतिक संरक्षण, लोकतान्त्रिक मूल्य र दिगो विकासका क्षेत्रमा नेपाल–अमेरिका साझेदारी थप सुदृढ भएको सन्देश दिएको जनाएको छ। उनका कार्यक्रमहरूले सांस्कृतिक सम्पदा संरक्षण, स्थानीय समुदायको सशक्तीकरण, अभिव्यक्ति स्वतन्त्रता तथा डिजिटल अधिकारसम्बन्धी संवादलाई प्राथमिकतामा राखेको उल्लेख गरिएको छ।
यसैबीच काठमाडौंमा जारी एसेन्ट समिट २०२६ ले विश्व पर्वतारोहण तथा हिमाली पर्यटन क्षेत्रका अगुवा व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याएको छ। सम्मेलनमा बोल्दै रोजर्सले हिमाली क्षेत्रमा जिम्मेवार पर्यटन, अन्तर्राष्ट्रिय सहकार्य र वातावरणीय दिगोपनको महत्वमा जोड दिइन्।
उनले पर्वतीय पर्यावरण संरक्षण र पर्यटनमा निर्भर स्थानीय अर्थतन्त्रको प्रवर्द्धन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको बताइन्। सम्मेलनले सगरमाथा र हिमाली अभियानहरूको भविष्यबारे विश्वव्यापी संवादलाई अघि बढाउनुका साथै नेपाललाई उच्च हिमाली साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।













