काठमाडौं, वैशाख १७: नेपालस्थित अमेरिकी दूतावास आज एमसीए–नेपाल र नेपाल सरकारसँग मिलेर एमसीसी नेपाल सम्झौताअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास कार्यक्रममा सहभागी भएको छ। यस कार्यक्रमलाई परियोजनाको कार्यान्वयनमा एक महत्त्वपूर्ण कोसेढुङ्गोका रूपमा हेरिएको छ।
यो परियोजना नेपाल र अमेरिकाबीचको बलियो द्विपक्षीय साझेदारी तथा नेपालको महत्त्वपूर्ण पूर्वाधार विकासमा भएको नयाँ प्रगतिलाई प्रतिबिम्बित गर्ने बताइएको छ। एमसीसी नेपाल सम्झौताअन्तर्गत कुल ७४ करोड ७० लाख अमेरिकी डलरको संयुक्त लगानी रहेको छ, जसमा एमसीसीबाट ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर समावेश छ।
कार्यक्रममा कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले यो परियोजना केवल लगानी मात्र नभई नेपाल–अमेरिका सम्बन्धको मजबुती र दुवै पक्षको साझा प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो। उहाँले भन्नुभयो,
“यो परियोजना केवल एउटा लगानी मात्र होइन । यो त हाम्रो दौत्य सम्बन्धको मजबुती र नेपालका जनता तथा एमसीसी सम्झौताअन्तर्गत नेपालमा काम गरिरहेका अमेरिकी व्यवसायहरूका लागि ठोस परिणाम दिने हाम्रो साझा प्रतिबद्धतालाई झल्काउने एक महत्त्वपूर्ण कोसेढुङ्गो हो ।”
एमसीसी सम्झौताअन्तर्गत सडक मर्मत तथा विद्युत् प्रसारण परियोजनाले नेपालको सडक सञ्जाल सुदृढ बनाउने, यातायात लागत घटाउने, विद्युत् आपूर्ति थप भरपर्दो बनाउने तथा दीर्घकालीन आर्थिक वृद्धि र सीमापार विद्युत् व्यापारलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ।












