काठमाडौँ, १४ माघ : नेपाली कांग्रेस यो निर्वाचनमा “फलामको चिउरा खानु” जस्तै कठिन परिस्थितिबाट गुज्रिरहेको देखिन्छ। लामो समयदेखि लोकतान्त्रिक मूल्य, विधि र विधानको पालना गर्ने पार्टीका रूपमा चिनिँदै आएको कांग्रेस आज आन्तरिक कलह, गुटबन्दी र अविश्वासको चपेटामा परेको छ।
पार्टीभित्र गगन थापा प्रभावशाली नेतृत्वका रूपमा उदाएपछि असन्तुष्टि चुलिएको छ। विशेषगरी देउवा पक्षसँग निकट रहेका पुराना नेताहरू गगन थापाको बढ्दो प्रभावबाट असहज देखिन्छन्। एकातिर पुरानो नेतृत्व आफ्नो पकड जोगाउन चाहन्छ, अर्कोतिर नयाँ पुस्ता छिटो परिवर्तन खोजिरहेको छ। यही द्वन्द्वको केन्द्रमा गगन थापा परेका छन्।
झन गम्भीर कुरा के छ भने, गगन थापाकै नजिक मानिएका केही सहयात्री र गठबन्धनका उम्मेदवारहरू नै उनको राजनीतिक भविष्यप्रति इमानदार नरहेको आरोप लागिरहेको छ। गगन थापा निर्वाचनमा कमजोर भएमा उनी प्रधानमन्त्री तथा पार्टी नेतृत्वको दौडबाट बाहिरिने आशंका धेरैमा देखिन्छ। यदि अर्काे कुनै नेता निर्वाचित भएर पार्टी सभापति र प्रधानमन्त्रीको दाबी गर्न अघि बढे, गगन थापाको राजनीतिक स्थान अझै कमजोर बन्न सक्छ।
आन्तरिक लोकतन्त्र, नियम र प्रक्रियामा विश्वास गर्ने दाबी गर्ने नेपाली कांग्रेसमा यसपटक त्यो अभ्यास कमजोर देखिएको छ। व्यक्तिगत स्वार्थ, पदको लालसा र गुटगत राजनीतिले पार्टीको साझा उद्देश्यलाई ओझेलमा पारेको अनुभूति कार्यकर्तामाझ फैलिएको छ।
अबको निर्वाचन नेपाली कांग्रेसका लागि केवल सिटको लडाइँ मात्र होइन, पार्टीको चरित्र र भविष्यको पनि परीक्षा हो। गगन थापा यो आन्तरिक घेराबन्दी तोडेर अघि बढ्छन् कि आफ्नै टिमको राजनीतिक खेलको शिकार बन्छन् यो प्रश्नले नेपाली राजनीतिलाई गम्भीर रूपमा झकझक्याइरहेको छ।













