काठमाडौं –बालेन शाह, कुलमान घिसिङ र रवि लामिछानेबीचका पछिल्ला भेटघाटले आशा होइन, शंका जन्माएको छ। ओली, प्रचण्ड र देउवाजस्ता नेताले दशकौँ देखि चलाएको राजनीतिक प्रणालीको विकल्पका रूपमा देखिएका यी पात्रहरूबाट जनताले प्रणाली परिवर्तनको अपेक्षा गरेका थिए। जेन-जी आन्दोलनले पद होइन, व्यवस्था परिवर्तन मागेको थियो।
तर अहिले सामाजिक सञ्जालमा उनीहरू नै प्रधानमन्त्री कुर्सीतर्फ केन्द्रित भएको चर्चा चल्न थालेपछि कटु सत्य सतहमा आएको छ—नेपालमा उमेर, विचार वा अनुहार फरक भए पनि अन्तिम लक्ष्य सत्ता नै हुन्छ।
यसैबीच, नेपाली कांग्रेसका केहि प्रमुख आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन । जनधारणा कडा छ—यो निर्णय डरबाट प्रेरित छ। बढ्दो जनआक्रोश र युवा चेतनासँग सामना गर्ने साहस नभएको कांग्रेसका केहि प्रमुख आज उत्तरदायित्वबाट भागिरहेको देखिन्छ।
उता, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले असफलता, विवाद र अस्थिरताका बाबजुद केपी शर्मा ओलीलाई पुनः भारी मतसहित नेतृत्व सुम्पिएको छ। यसले पार्टीभित्र केपी शर्मा ओली सही प्रमणित भए पनि जनता को बिचार आउन बाकी नै छ ।
अर्कोतर्फ, कांग्रेसकै अर्को धारले निर्वाचनको अन्तिम मिति घोषणा नगरी सर्वोच्च अदालतबाट संविधान पुनः खुल्ने आशामा समय बिताइरहेका छन। राजनीतिक वृत्तमा शेरबहादुर देउवा जुनसुकै बाटोबाट भए पनि पुनः प्रधानमन्त्री बन्ने तयारीमा रहेको चर्चा खुल्लमखुल्ला छ।
भारत र चीनबीच थिचिएको तथा अमेरिका,यूरोप लगायत शक्तिशाली राष्ट्रको प्रभावमा रहेको भूपरिवेष्ठित नेपाल आज झन् कमजोर बन्दै गएको छ। विदेशी सहयोग जनताको भविष्यका लागि हुनुपर्ने हो, तर यहाँ नेताहरूले त्यसलाई आफ्नो सत्ता जोगाउने साधन बनाइरहेका छन्।
परिणाम गम्भीर छ। शासन प्रणाली जाम भएको छ, विश्वास भत्किएको छ, र जनता थाकिसकेका छन्। युवाले देशभित्र भविष्य देख्दैनन्। विद्यार्थी, दक्ष जनशक्ति र परिवारहरू ठूलो संख्यामा देश छोडिरहेका छन्। नेताहरू कुर्सीको लडाइँमा व्यस्त रहँदा देश रोइरएको छ।
अब प्रश्न प्रधानमन्त्री को बन्छ भन्ने होइन। प्रश्न यो हो—के नेपाली यो दोहोरिरहने सत्ता खेल, असफल नेतृत्व र लुटिएको आशाबाट बाँच्न सक्छ?













