काठमाडौं । नेपाल मेडिकल काउन्सिलको वेबसाइट २६ असोज दिउँसो करिब २ बजे अनधिकृत रूपमा ह्याक भएको पुष्टि भएको छ। ह्याकिङको घटना सार्वजनिक भएपछि काउन्सिलले वेबसाइट अस्थायी रूपमा बन्द गरी आवश्यक सुरक्षा प्रक्रिया सुरु गरेको छ।
काउन्सिलका रजिष्ट्रार डा। सतिश कुमार देवका अनुसार वेबसाइट ह्याक भए पनि महत्वपूर्ण डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको छ। “हाम्रो आइटी टिमले सबै डेटा सुरक्षित रहेको प्रमाणित गरेको छ। केही फाइलहरू प्रभावित भए पनि सम्पादन हुन सकेको छैन,” उनले बताए।
डा. देवका अनुसार पुरानो सर्भर पुनः प्रयोग गर्न नमिल्ने भएकाले काउन्सिलले नयाँ सर्भरमा प्रणाली पुनःस्थापना गर्ने तयारी गरेको छ। ह्याकिङको प्रकृति पत्ता लगाउन र सुरक्षात्मक सुधार गर्न काउन्सिलले साइबर ब्युरोसँग समन्वय गरी अनुसन्धान अघि बढाएको छ।
“साइबर ब्युरोलाई सम्पूर्ण जानकारी पठाइसकिएको छ। फोरेन्सिक क्लियरेन्स प्राप्त भएपछि मात्र वेबसाइट नयाँ सर्भरमा पुनः सञ्चालन गरिनेछ,” डा. देवले स्पष्ट पारे।
काउन्सिलका प्राविधिक टोलीका अनुसार ह्याकरको आइपी एड्रेस र स्रोत पहिचान गर्ने प्रयास जारी छ। हालसम्म डेटा चुहावट नभएको र सुरक्षा प्रणाली थप सुदृढ बनाइने काउन्सिलले जनाएको छ।
नेपाल मेडिकल काउन्सिलको वेबसाइट चिकित्सक दर्ता, प्रमाणपत्र प्रमाणीकरण र सार्वजनिक सूचना प्रकाशनका लागि प्रयोग हुने प्रमुख डिजिटल माध्यम हो। ह्याकिङको यो घटना पछि काउन्सिलले साइबर सुरक्षा मापदण्ड थप कडा बनाउने तयारी गरेको छ।













