काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सरुवा भएर कार्यक्षेत्र जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई निर्देशन दिएका छन् । आज (सोमबार) प्रहरी प्रधान कार्यालयमा जघन्य अपराध अनुसन्धानमा केन्द्र्रित भएर काम गर्न निर्देशन हुन् । सिंहले फरार अभियुक्तलाई नियन्त्रणमा लिन र पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन गरेका हुन् ।
आर्थिक पारदर्शीताको नीति अवलम्बनमा रहेर तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह आग्रह गर्दै आईजीपी सिंहले ‘योग्यताको आधारमा जिम्मेवारी प्रदान गरेको हुनाले प्रहरी अधिकृतहरूले उत्कृष्ट रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षाकृत आशा राखेको बताएका छन् ।
सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा सिंहको जोड रहेको छ । प्रहरी महानिरीक्षक सिंहले तालिम केन्द्रहरू पहिलेको भन्दा परिस्कृत भएको, पूर्वाधारहरू विकास भएको र आगामी दिनमा स्मार्ट मोडलको रूपमा जाने चर्चा गर्दै तालिम केन्द्रका प्रमुखको रूपमा खटिने प्रहरी अधिकृतहरूले प्रशिक्षार्थीहरूलाई थप दक्ष बनाउन आवश्यक कार्ययोजना बनाई अगाडि बढ्नुन समेत निर्देशन दिएका छन् ।













