काठमाडौं । सरकारले जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको पुनःनिर्माण र विकासका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो जानकारी दिएका हुन्।
सरकारले प्राकृतिक स्रोतको उपयोग, औषधीय वनस्पतिको संरक्षण र मूल्य अभिवृद्धिको लक्ष्यसहित जडीबुटी क्षेत्रलाई प्राथमिकतामा राखेको छ।
गत चैत १५ गते काठमाडौंमा भएको राजावादी प्रदर्शनका क्रममा जडीबुटी कम्पनीको कार्यालयमा आगजनी र तोडफोड हुँदा २८ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। उक्त क्षतिलाई ध्यानमा राख्दै सरकारले कम्पनीको पुनःस्थापनाका लागि बजेट विनियोजन गरेको हो।
यस कदमले जडीबुटी क्षेत्रको पुनरुत्थानसँगै ग्रामीण अर्थतन्त्रमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।













