नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राजनीतिमा प्रवेश गर्ने चर्चा सुरु भएको छ । जनताको विश्वास जितेका घिसिङलाई सरकारबाट कार्यकाल नसकिँदै हटाएपछि, उनी राजनीतिमा सक्रिय हुने चर्चा चुलिएको हो । कुलमान घिसिङ आफैले पनि राष्ट्र निमार्णमा आफ्नो आवश्यकता परेको ठाउँमा योगदान दिने अभिव्यक्ति दिएका छन् । जसलाई उनी राजनीतिमा आउँन लागेको रुपमा अनुमान गरिएको छ ।
दोस्रोे कार्यकाल पुरा नहुँदै केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई निकालेपछि उनले राजनीतिमा प्रवेश गर्ने संकेत गरेका हुन । कुलमान घिसिङले राष्ट्र निमार्णमा जहाँ आफ्नो आवश्यकता पर्छ, त्यहाँ सधै योगदान दिन तयार रहेको बताएका छन् । जसले उनी राजनीतिमा आउँन लागेको सहजै अनुमान गर्न सकिन्छ ।
सरकारले कुलमान घिसिङले काम नै गरेनन भन्ने दाबी गरेको छ । तर आम जनताले भने उनलाई उज्यालो नेपालको नायकको रुपमा हेर्ने गरेका छन् । आम मानिस कुलमान घिसिङको कुशल व्यवस्थापनकै कारण नेपालबाट लोडसेडिङ अन्त्य भएको बुझाईमा छन् । सरकारले कुलमान घिसिङलाई हटाएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँहरुमा उनको पक्षमा प्रदर्शन भइरहेको छ । सामाजिक सञ्जालदेखि सडकसम्म कुलमानका समर्थकहरूले सरकारको चर्को विरोध गरेका छन् ।
नागरिक समाज सहित सामाजिक व्यक्तित्वहरुले पनि कुलमान घिसिङलाई बर्खास्त गर्नु अन्याय भएको भन्दै सरकारको आलोचना गरेका छन् । कुलमानको समर्थनमा देखिएको जनसमर्थनले उनलाई राजनीतिमा आउन उर्जा मिलेको छ । पछिल्लो समय राजनीतिक दलप्रति रुष्ट भएका जनताले स्वतन्त्र वा इमानदार व्यक्तिहरूलाई रोज्न थालेका छन्। यही समयलाई घिसिङले उपयुक्त मानेका देखिन्छ ।
उनले आगामी ०८४ सालको संसदीय निर्वाचनमा उत्रने गरी गृहकार्यको बुझिएको छ । तर कुलमान घिसिङ राजनीतिमा आउँदै गर्दा उनी कुन राजनीतिक दलबाट आउँछन वा स्वतन्त्र रुपमा आउँछन भन्ने आम मानिसको चासोको विषय बनेको छ । नेकपा माओवादी केन्द्रले कुलमानलाई लगातार समर्थन गर्दै आएको छ । माओवादीकै जोडबलमा कुलमान घिसिङ दुई पटक प्राधिकरणको नेतृत्वमा पुगेका थिए । अहिले पनि माओवादीले उनी प्रति सहानूभुति देखाउँदै आएको छ ।
त्यसैले कतिपयले उनी माआवादी केन्द्रबाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने अनुमान गरेका छन् । तर अर्कोतर्फ, पछिल्लो स्थानीय र संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रति आम मतदाताको आकर्षण देखिएको छ । विशेषगरी काठमाडौं, धरान, धनगडी जस्ता ठूला सहरहरुमा स्वतन्त्र उम्मेद्वारहरुले ठूलो सफता पाएका छन् । त्यसैले कतिपयले कुलमान स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रन सक्ने अनुमान पनि गरेका छन् ।
यसबाहेक, अर्को सम्भावना भनेको उनले नयाँ पार्टी खोलेर राजनीतिक यात्रा सुरु गर्न सक्छन् । स्थापित दलहरूप्रति जनताको विश्वास घट्दै गएका बेला नयाँ राजनीतिक शक्तिहरूले जनमत बटुलिरहेका छन् । त्यसैले उनले नयाँ राजनीतिक दल खोलेर आफू जस्तै लोकप्रिय व्यक्तिहरुलाई समेट्न सक्ने छन् । त्यसका साथै कतिपयले उनी गत निर्वाचनलाई लक्षित गरेर स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी समेत प्रश्न गर्न सक्ने अड्कलबाजी गरेका छन् ।
तर बाहिर जे जस्ता विश्लेषण भएपनि उनीको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । तर तर जनताको विश्वास, उनको लोकप्रियता, र पछिल्लो अभिव्यक्तिले उनलाई राजनीतिको मूलधारमा ल्याउने संकेत भने प्रस्ट देखिन्छ ।













