काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा महिला तस्करी हुने क्रम भयावह बनेको छ। सुरक्षा निकाय, अध्यागमन र एयरलाइन्सका कर्मचारीहरूको मिलेमतोमा दैनिक २०० भन्दा बढी महिलालाई खाडी मुलुकहरूमा अवैध रूपमा ओसारपसार गर्ने गरेको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको गोप्य अनुसन्धानले यो तथ्य बाहिर ल्याएको हो।
अनुसन्धानका अनुसार, विमानस्थलबाट ओमन, कुवेत, दुबई, साउदी अरब, कतार, सिरिया, इराक र बहराइनमा नेपाली महिलाहरूको तस्करी भइरहेको छ। दुबई सरकारले भिजिट भिसामा कडाइ गरेपछि तस्करहरूले ओमनलाई ट्रान्जिट प्वाइन्ट बनाएका छन्। ओमन हुँदै अन्य खाडी मुलुकमा महिलाहरूलाई पुर्याइने गरिएको छ।
प्रहरी स्रोतका अनुसार, भिजिट भिसामा जाने महिलाहरूका लागि नक्कली कागजातहरू प्रयोग गरिन्छन्। जसमा होटल बुकिङ, हवाई टिकट र भिसा लगायतका कागजातहरू नक्कली बनाइन्छ। विमानस्थलका कर्मचारीहरूले प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म लिएर बोडिङ पास जारी गर्ने गरेको अनुसन्धानमा खुलेको छ। यसमा केही एयरलाइन्सका कर्मचारीहरूको प्रत्यक्ष संलग्नता रहेको समेत पाइएको छ।
सरकारले २०७३ सालदेखि खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा जान रोक लगाए पनि, विभिन्न माध्यमबाट अवैध रूपमा महिलाहरू तस्करीको शिकार भइरहेका छन्। विशेषगरी ग्रामीण क्षेत्रका महिला र किशोरीहरूलाई आकर्षक रोजगारीको प्रलोभनमा पारेर तस्करी गर्ने गरिएको छ।
सरकारले २०८० माघ १० गतेदेखि लागू गरेको ६ बुँदे मापदण्डलाई समेत तस्करहरूले खुलेआम दुरुपयोग गरिरहेका छन्। जसमा दुईतर्फी हवाई टिकट, ५०० अमेरिकी डलर, होटल बुकिङ लगायतका कागजातहरू नक्कली बनाउने गरिएको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेको छ। यस विषयमा गृह मन्त्रालय, श्रम मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्नुपर्ने माग उठेको छ। यो गम्भीर घटनाले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ। तस्करीमा संलग्न सबैलाई कानुनी दायरामा नल्याएसम्म यो समस्या समाधान नहुने सरोकारवालाहरूले बताएका छन्।












