इलाम : कुनै वेला मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले अहिले अलैँची खेतीमा आकर्षित भएका छन्। किबीभन्दा अलैँचीबाट नै दशौा गुणा फाइदा हुने उनको बुझाइ छ।बताए।
उनले मकै छर्ने टार बारीमा हाल करिब २० बोट किबी रोपेका छन्। किबी र अलैँची तुलना गर्दै उनी भन्छन्, ‘त्यो बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मनबढी फल्ने थियो, अहिलेको भाउमा पनि दुई लाख रुपैयाँभन्दा बढी हुन्थ्यो। अब किबी उखेलेर अलैँची नै लगाउने हो।’
२० बोट किबीबाट अहिले पाँच हजार पनि आम्दानी नभएको उनले बताए। इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र हैन यो क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाएका छन्।
अलैँची दिने आम्दानी अन्य खेतीबाट नहुने यहाँका किसानको अनुभव छ। अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो रु एक सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ। तर अलैँची प्रतिकिलो रु दुई हजार आठ सयभन्दा बढीले बिक्री भइरहेको छ। अलैँचीको मूल्य हाल एक लाख १५ हजारसम्ममा कारोबार भइरहेको छ।
कुनै बेला प्रतिकिलो ६०० रुपैयाँमा कारोबार भएको किबी हाल बिक्रीमा समेत समस्या भइरहेको किसानको भनाइ छ। किबीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको किसानको भनाइ छ।
किबीको बजारीकरणमा पनि समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ। किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्य आलु बराबर मात्र पाइने गरेको उनले बताए। शुरुमा किबी गर्ने किसानले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको उनको अनुभव छ।
किबीबाट सोचे जस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताए। किबीलाई फलफूलको राजा उपनाम दिइएको छ। एउटै किबीबाट धेरैवटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रुपमा लिइन्छ।
प्रशोधीकरण छैन
इलामलगायत देशका पूर्वी पहाडी जिल्लामा यसको राम्रो उत्पादन सुरु भइसकेको छ। तर उत्पादन भए प्रशोधिकरणका लागि कुनै उद्योग छैनन्। किबीको वाइन बनाउन गाउँगाउँमा थालिए पनि यसले निरन्तरता हुन सकेन। केही किसान आफैँले स्थानीयस्तरमा नै अचार बनाए उद्योग नै स्थापना गरेर प्रशोधीकरण हुन नसक्दा मूल्य ओरालो लाग्दै गएको छ।
स्वादिलो फल किबीबाट किसानले धेरै परिकार बनाउन सक्ने भए हाल पाकेको खानेबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्ने गरेको किसान आफैँ बताउँछन्। भान्सामा स्वादका लागि अचार प्रयोग हुन्छ। किबीबाट अमिलो र गुलियो स्वाद पाइने हुँदा अचार राम्रो हुन्छ। तर व्यावसायिक रुपमा अचार बनाउन पहल भइरहेको छैन।
किबी नेपालको इलामसहित काभ्रे, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा खती हुँदै आएको छ। पश्चिमी जिल्लामा पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ।
किवी फलमा पाइने एक्टिनिडिन नामक इन्जाइमले पाचन प्रक्रियामा सहयोग गर्छ। यो फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नुपर्छ। भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन। भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ।
यसलाई हाँगा (डाँठ) र दिउलबाट थप विरुवा उत्पादन गर्ने गरिएको छ। रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ। पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ। समुन्द्रको सतहदेखि एक हजार २०० मिटरदेखि दुई हजार चार सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिन्छ। यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप विरुवा उत्पादन गर्ने गरिएको छ।
इलाममा करिब कुल ७८० हेक्टरमा किबी खेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताए। अघिल्लो वर्ष दुई हजार ८५२ मेट्रिक टन किबी उत्पादन भएको उनले जानकारी दिए। किबीलाई प्रशोधन गरेर जुस, जाम बनाउन सकिन्छ। जुस, जाम वा अचार बनाउन पहल गर्ने हो भने किबीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानको भनाइ छ।












