सन् २०३४ को पुरुष विश्वकप फुटबल साउदी अरबमा आयोजना गर्ने फिफाको निर्णयसँगै विश्वकप खेलाउने फुटबल रङ्गशाला नै तयार नगरेको देशलाई आयोजक बनाइएको भन्दै विवाद भएको छ।
आयोजक साउदी अरबले भने विश्वकपका लागि विशेष रङ्गशालाहरू बनाइने बताएको छ। विश्वकप फुटबलका लागि यो देशले अब ११ वटा रङ्गशाला बनाउनुपर्ने बीबीसीले जनाएकाे छ।
बुधवारको फिफाको निर्णयसँगै साउदी अरब मध्यपूर्वमा विश्वकप फुटबल आयोजना गर्ने दोस्रो देश हुने भएको छ। यसअघि सन् २०२२ मा मध्यपूर्वको कतारले विश्वकप फुटबल आयोजना गरेको थियो।
साउदी अरबले सन् २०२१ यता खेलकुदमा पाँच अर्ब युरोभन्दा धेरै लगानी गरिसकेको छ। देशको अर्थतन्त्रलाई विविधिकरण गर्न राजकुमार मोहम्मद बिन सलमानले उल्लेख्य भूमिका खेलिरहेका छन्।
साउदी अरबको घरेलु फुटबल लीगमा पनि अहिले विश्वका चर्चित खेलाडीहरू आबद्ध छन्। क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा र नेइमार जूनिअर त्यसमध्येका केही हुन्।
फुटबलको सर्वाेच्च निकाय फिफाले साउदी अरबमा बन्ने नयाँ रङ्गशालाहरूले भविष्यमा बन्ने रङ्गशालाहरूको खाकामै परिवर्तन ल्याइदिने दाबी गरेको छ। आयोजकका अनुसार साउदी अरबमा जम्मा १५ वटा रङ्गशालामा विश्वकप फुटबलका खेलहरू हुनेछन्। ती खेलहरू रियाद, जेद्दा, अबाह, अल-कोबर र निआम र देशको उत्तर पश्चिमी क्षेत्रमा बन्ने नयाँ सहरमा हुनेछन्।
विश्वकप आयोजना गर्न साउदी अरबले आफ्ना विमानस्थलहरू पनि विस्तार गर्ने वाचा गरेको छ। तीव्र गतिका रेल सञ्जालहरू विस्तार गर्ने र सार्वजनिक यातायात बढाउने वाचा पनि यो देशले गरेको छ।