जति छोराछोरी पाउनुको महत्त्व छ त्यति नै महत्त्व छ बुवा आमा हुन पाउनु को , सबैभन्दा पहिला त मेरो सन्तानलाई धन्यवाद दिन चाहन्छु, मलाई बुवा र कल्पनालाई आमा बन्ने र कहलिने अवसर दिएको मा ।
आज छोरो १ वर्ष पुगेको छ । ह्याप्पी वर्थ डे छोरा भनेर लेखेर मलाई शर्टकटमा मेरो सदभावनाहरु टुङ्गो लगाउन पनि छैन । मेरो छोरा साधकको पहिलो जन्म दिनमा म शब्दहरू मार्फत केही लेख्न जाँदै छु, उसले अक्षर चिनेपछि पढ्न पनि पाओस्, बुझ्न पनि पाओस् ।
बेबी साबर गरेर ब्वाई या गर्ल कल्चर गर्न मन लागेन, मैले र कल्पनाले जेन्डर डिटरमाइन नगरीकनै आफ्नो सन्तानलाई सहृदय स्वागत गर्ने तयारी गरेका थियौँ ।
मेरो जीवनको विसं २०७८ साल भाद्र २३ गते भन्दा अगाडिका समय एक अध्याय अनि त्यसपछिका अहिलेसम्मका एक वर्ष अर्को अध्याय, एक वर्षमा मैले अहिले सम्म नबाँचेको एउटा अध्याय बाँचे ।
रातीको अनिदो, समयमयको अस्पतालको दौड, खोप, ज्वरो, डाइपर, बच्चाहरूको खाना, कपडा, न्वारन, पास्नी लगायत अन्य थुप्रै कुराहरू यस वर्ष भरि भइनै रहे ।
छोराले पहिलो पटक बोलेको आवाज कुनै शंखध्वनी भन्दा कम पवित्र लागेन, उसका आची सोहोर्न कहिल्यै घिन लागेन, उसका हाँसोमा सबै मेरा पीडाहरूले एक पलका लागि बिदा मागे जस्तो लाग्यो, म छोरा भित्र नै हराउन थाले ।
साधक, एउटा गहिरो विषय र विशेषणको नाम राख्यौँ, म चाहन्छु उसले नाम अनुसारको चिन्तन गरोस्, गर्ने मौका पाओस् ।
साधक आज एक वर्ष भयो, समयको चक्र रोकिने वाला छैन, वर्षहरू खप्टिँदै जानेछन्, उ एक दिन ठुलो हुनेछ, बुझ्ने हुनेछ अनि चेतनशील हुनेछ ।
म उसलाई करियर, पैसा, सम्पत्ति आदिको भार दिन चाहन्न, उसको सपना उ आफैँले देखोस् । जीवनलाई दौडका रूपमा परिभाषित गर्दै उसलाई प्रतिस्पर्धा र पैसाको रेसमा कुदाउने पटक्कै इच्छा छैन । जीवनलाई जीवनजस्तो गरी बाँच्न सक्ने होस्, आफ्नो लागि आफै सपना देखोस्, सङ्घर्ष गरोस् अनि पुरा भएका सपनाहरूको खातमा बसेर मेरो छोराले सुस्केरा लिओस् ।
हामी आमाबुवाले आफ्नो जीवनमा पुरा गर्न नसकेका सपनाहरूलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने प्राचीन पौराणिक चलन छ तर म यसलाई तोड्न चाहन्छु । जीवन रिले दौड हैन, मेरो छोराले आफ्नो लागि अलग्गै, पृथक् र पर्सनल सपनाका रुख रेखा तयार गरोस्, उसलाई गर्न मन लागेको र गर्न जानेको कुरा गरोस्, साधक सार्थक रूपमा अघि बढोस् ।
उसले जीवन बाँच्न र सुख सयलका लागि झुटो बोल्न नपरोस्, सम्पत्ति जोड्नका लागि देश बेच्न नपरोस् अनि आशक्त भएर जीवनभर आफ्नो सपना र चाहनाको दास बन्न नपरोस् । मेरो सन्तान कुनै विशेष प्रतिभा भएर रातारात भाइरल होस् भन्ने म चाहन्न, उ सकेसम्म औसत र सामान्य होस्, उसलाई उसको ज्ञान र चिन्तनले अरूभन्दा फरक बनाओस् । उसले अरूको मान राख्न सिकोस्, स्वाभिमानको अर्थ बुझोस्, देशलाई माया गरोस्। महिलाहरूको थप इज्जत गर्न जानोस्, उसको बोलीमा सरस्वती बसुन्, उसका औँलामा सरस्वती बसुन् ।
साधक तिमीलाई जन्म दिनको हार्दिक शुभकामना । यो तिम्रो पहिलो जन्मदिन हो, हामी बाचुन्जेल तिम्रा हरेक जन्म दिनमा साथ रहनेछौँ ।